मलेसियामा नेपाली महिलाद्धारा उद्धारको अपिल

 

 

क्वालालम्पुर, श्रावण ६ - करिव १० महिना अघि 'हाउसमेड' कामका लागि मलेसिया आएकी एक नेपाली महिलाले आफनो साहुनीवाट मानसिक यातना पाएको बताउँदै उद्धारको अपील गरेकी छन् ।

मकवानपुर, निवुवाटार– ४ घर भएकी निलम लामा (नाम परिवर्तन) ले आफुलाई उद्धार गरी सकुशल घर पर्काउने ब्यवस्था गरिदिन नेपाली दुतावास तथा स्थानीय संचारकर्मीसंग आग्रह गरेकी हुन् । क्वालालम्पुरवाट नजिकै रहेको पेतालिन जयास्थित एक घरमा ती महिला काम गरिरेहेकी छन् ।

दुइ छाक पनि राम्ररी खान नदिएकोले अर्को घरमा काम गर्ने इण्डोनेशियन महिलाले आफुलाई लुकेर खानेकुरा दिने गरेको उनको भनाइ छ ।

यस अघि कुवेतहुंदै कामको सिलसिलामा वेलायतसम्म पुगेको बताउने ती महिलाले आफुलाई नेपालकै एक दलालले झुक्याएर मलेसिया ल्याएको बताईन् । आफु रहेको ठाउँको वारेमा संचारकर्मीलाई बताएपनि उनले नाम नलेखिदिन अनुरोध गरेकी थिइन् । 'मेरो वारेमा लेख्दा ध्यान दिनुहोला तपाईहरुको कारणले मैले थप यातना भोग्नु नपरोस' उनले भनिन् ।

नेपाली दुतावासमा केही दिन अगाडि मात्रै आफुले जानकारी गराएको उनले बताईन । नेपाली दुतावासका अनुसार पिडितको वारेमा भर्खरै मात्र जानकारी आईपुगेको र छानविन शुरु गरिसकेको छ ।

मलेसियाको कानुन अनुसार दैनिक ८ घण्टा काम गरेवापत ५ सय ४६ पाउने भएपनि १६ घण्टा काम गरेवापत मासिक ५ सय ५० पाउने गरेको उनले बताईन । आमाको ७ महिना अगाडि मृत्यु भएको र वुवाले कान्छी श्रीमती ल्याएर वाहिर वसेको कारण जेठी छोरी भएकाले परिवारको सवै जिम्मेवारीसमेत आफैले व्यहोर्नु परेको उनले बताईन । उनले भनिन, 'म नर्कमा फसेकी छु मेरो चाडो उद्धार होस् ।'

–रामचन्द्र नेपाल