संगिता घिमिरे, इजरायल

 

हिजो अस्तिको भन्दा उसको अनुहार आज धेरै उदास देखिन्थ्यो । रातभरि निदाउन नसकेर सुन्निएका आँखाहरु रगत झर्न लागे झै राता भएका थिए । आँखाको वरिपरि बसेको निला डाम स्पस्ट देखिन्थे । बिहान मैले ल्यापटप खोल्नु भन्दा पहिलादेखि नै  उ काममा हाजिर भै सकेको हुन्थ्यो । बेलुका पनि म सुतिसकेको हुन्थें, जब उ कम्प्युटरको स्क्रिन अगाडि बसेर काम गरिरहेको नै हुन्थ्यो । म उसको एउटा इन्टरनेटमा भेटिएको साथी मात्रै हुँ । हाम्रो आज सम्म  भेट भएको छैन शायद हुदैन होला पनि । किन की  हाम्रो संसार आ-आफ्नै छ । अनि हामी हिड्ने बाटो पनि फरक छ । हामी त यात्राको क्रममा भेट भएका यात्रु न हौं, कुन मोडबाट यात्राले बिपरित दिशा लिन्छ त्यो न मलाई थाहा छ न उसलाई नै । तर हामी एउटा नेपाली भएको नाताले होला शायद मन मिल्ने साथी भएका छौ । फुर्सद मिलेको समयमा हामी घन्टौ घण्टा कुरा गरेर बिताउछौ पनि । दिनहुँ कुरा गरे पनि सकिन्न थियो हाम्रा मनका कुराहरु । आफ्नो देश घर परिवारबाट टाढिएपछि सबै भन्दा नजिकको भनेको नै साथी हुँदोरहेछ । जोसँग हाँस्न सकिन्छ, रुन सकिन्छ, दु:ख-सुख बाड्न सकिन्छ । मनमा उब्जेका राम्रा या नराम्रा भावनाहरुलाई साट्न सकिन्छ जसले गर्दा  हाम्रो कदमहरु गलत दिशा तिर जानबाट  जोगिउन । इन्टरनेटमा भेट भएका सबै साथीहरुसँग यस्तो भावना साट्न सकिन्छ भन्ने छैन तर ढुंगै ढुङ्गाले भरिएको बगरमा पनि सुन भेटिन्छ । हिलोले भरिएको पोखरीमा पनि कमल जस्तो सुन्दर फुल फुल्न सक्छ । यस्तै हो एउटा असल साथी इन्टरनेटको संजालमा पाउनु पनि । त्यहि भएर म भित्र भित्रै खुशी थिएँ । हाम्रो भेट कसरी भयो त्यो त खासै मलाई थाहा छैन तर उसैले मेरो याहूको इमेल ठेगाना कहाँबाट पाएको हो त्यो मलाई आज सम्म पनि थाहा छैन