नेपालकै एयरपोर्टबाट जान्छन् महिला कामदार विदेश
24th March 2010, Wednesday Font:    A+    A-
नेपाल सरकारले प्रतिबन्ध लगाए पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पर्यटकका रूपमा नेपाली महिला घरेलु कामदारका रूपमा काम गर्न अवैध रूपमा विदेश उडिरहेका छन् । उनीहरू महिला दलालको सहयोगमा विदेश पुगेका हुन् । केही दिन अगाडि कतारका लागि नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई नेपाली महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै उडेर कतार पुगिरहेको जानकारी गराएपछि परराष्ट्रले श्रम मन्त्रालयलाई पत्र लेखी त्यसबारे जानकारी गराएको छ ।परराष्ट्र स्रोतका अनुसार नेपाली महिला दलालको सहयोगमा पर्यटकका रूपमा विदेश जान लागेकोजस्ता नक्कली काजगपत्र बनाएर घरेलु कामदारका रूपमा विदेश गइरहेकाछन् । 'विदेश जान लागेका कतिपय महिलाले घुम्न जान लागेको कागजपत्र देखाउँछन्, । कतारस्थित नेपाली दूतावासले दैनिक २०/२५ जना महिला घरेलु कामदारका रूपमा कतार पुगिरहेको र त्यसमध्ये केही महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको परराष्ट्रलाई जानकारी गराएको थियो ।

चेलीबेटी बेचबिखन रोक्न नेपाल सरकारले खाडी मुलुकबाहेक मलेसिया जानसमेत प्रतिबन्ध लगाएपछि दलालले महिलालाई भारत हुँदै वैदेशिक रोजगारीमा पठाउन थालेका थिए । करिब ३ महिना अगाडि नेपाल सरकारले भारत सरकारलाई नेपाली महिला भारतीय विमानस्थल प्रयोग गरि वैदेशिक रोजगारीमा उड्न नदिन आग्रह गरेको थियो । भारत सरकारले नेपाल सरकारको उक्त आग्रहबारे औपचारिक जानकारी गराएको छैन । तर परराष्ट्र र श्रम मन्त्रालयका अधिकारीहरू भारतले दिल्ली विमानस्थलमा कडाइ गर्न थालेपछि दलालले नेपालबाटै महिला उडाउन थालेको बताउँछन् ।'नेपालबाटै उडेर महिला कतार पुगेको गुनासो आएपछि त्यसबारे अध्ययन गरिरहेका छौं,' श्रम मन्त्रालयका सहसचिव पूर्णचन्द्र भट्टराईले  भने, 'उनीहरूको पासपोर्ट स्क्यानिङ गरिसकेपछि वास्तविकता थाहा हुन्छ ।' नेपाली महिलालाई वैदेशिक रोजगारीमा जानबाट रोक्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रम मन्त्रालयको डेस्क छ । त्यसबाहेक नेपाल प्रहरीको सुरक्षा चेक जाँच छलेर उनीहरू उड्न सक्दैनन् । यस्तो अवस्थामा मिलेमतोबिना नेपालबाट महिला कामदार उड्नै नसक्ने श्रम मन्त्रालयकै अधिकारीहरू बताउँछन् ।