तमु माथि हिन्दू प्रहार

 

यदि कुनै जातिको अस्तित्व नष्ट पार्नुछ भने सिधा ताकेर त्यो जातिको धर्म, संस्कृति र वंशमाथि प्रहार गर्नु ऐया भन्नै नपाई जहाँको त्यहीं ठहरै हुनेछ, भन्ने कुरा तमुहरुले बुझ्नै सकेन । यदि यो कुरा बुझिदिएको भए आज तमु-तमु बीचमा विबादै रहने थिएन, तमु सिंगो रुपबाट प्रतिदिन तलतल ओर्लेर बिलाउने अवस्थासम्म आइ पुग्ने नै थिएन । जे होस् यो प्रहार कर्तालाई चिनी हालौं, त्यो अरु कोही होइन हिन्दु शासक र पण्डितहरु हुन् जुन १६औं शताब्दिमा तमुवानभित्र पस्न सफल भएका थिए ।

कुरा मामुली छैन ज्यादै गम्भिर छ त्यसैले सिधा घटनाको चर्चा गरिहाल्नु भन्दा दुबै पक्षको (हिन्दु र तमु) संक्षिप्त पृष्ठभुमि केलाएर अगाडी बढ्नु सान्दर्भिक हुन्छ होला । जसले गर्दा कुराको उठान यिनीहरुको परिचयबाट उठ्दैछ, पहिलो परिचय रहेकोछ 'तमु’ को ?।

तमु भनेको म्हिन कुगी (क्रोम्छेँ, म्होब्जे, ल्हेगे, चर्मी, टु, टोर्छै नान्सी, योज, हिला झण्‍डै १७० भन्‍दा बढि थरहरु र उपथरहरु), सोँगि –(कोन, लम, लेम, र यी थरभित्रका अन्य उपथरहरु) र क्ले (क्याल्डे, रिल्डे, डांगी, र यी थरहरुभित्रका उपथरहरु) को संयुक्त जातिय नाम हो । यो जाती भोट बर्मेली भाषा परिवारको मंगोल महावंशभित्रको एउटा हाँगा हो । यसको आफ्नै धर्म, संस्कृति र परम्परा रहेकोछ । बोन धर्म (नाम बो, क्यार बो, लम बो) लाई आफ्नो कुल धर्म मान्दछ । यसको कुनै लिखित धर्म शास्त्र नभएको अवस्थामा (नष्ट भएको कुरा गरिन्छ) मौखिक रुपबाटै शास्त्रिय कर्म गर्दै आइरहेकोछ । यस किसिमको मौखिक शास्त्रले तमु इतिहासलाई बचाइ राख्ने काम मात्रै नगरी पुनः इतिहार लेख्ने काममा ठुलो आधार मिल्ने कुरा स्पष्ट छ । यसैको आधारमा तमु जातिको थलोकिलो सम्बन्धी केही जानकारीहरु खोजी निकाल्ने कामको थालनी उत्साह जनक हिसावले भइरहेको छ । यसको आधारमा भएको खोज-अनुसन्धानले तमु पुख्र्यौली थलोहरुलाई यस प्रकारले अगाडि सारेकोछः

परापूर्व कालमा झण्डै ८-९ हजार वर्षपूर्व तमुहरु (म्हिन कुगीहरु) पशिचम मंगोलिया (रुस र चीनको सिमा नजिक) कोयो नाँसामा थिए । त्यहाँबाट बर्साई र्सर्दै स-नाँस, डो नाँस, सी नाँस, क्रो नाँसमा आई पुगे । अनि उनीहरु चाइनाको किङ्गर्घाई, कुन्सु, सिचुअन र युनान हुदै कौबेली मास्यौं, गह्राबोईबाट ४,६०० वर्षन्दा पूर्व नै पूर्वी तिब्बतको चाम्डो (छ्याम् ट्हो = राम्रो गाउँ) मा झारि सकेका थिए । चाम्डो पश्चात छ्याड्सिमा आई तमुहरु दुइ दिशामा छुट्टिने काम भयो र एक टोली हङ्गकङ्गतिर लाग्यो र अर्को टोली ल्होकाको पश्चिमी भाग यार्लुङ्गमा आई बस्यो । ल्होकामा हुँदा इ. पु. १००० -(एक हजार) सम्ममा म्हिन कुगीबाट तमु (तुबो) भनेर चिनि सकेको र बोन धर्मको विकास (नाम बो) भई सकेको थियो । यहाँबाट पुनः बर्साई र्सर्ने काम भए र मुस्ताङ्गमा पुग्छ । मुक्तिनाथ नजिकको टिलिध्याल्सामा आइ पुग्दा वि. सं. ३०० (तीन सय) को समय थियो । मुक्तिनाथपछि मनाङ्ग आउने काम हुन्छ । मनाङ्गबाट तमुहरु क्होला सोंथर (सों प्रे ट्हो) मा आई मिलेर बस्छ । त्यहाँ जनसंख्याको चाप बढेपछि त्यहाँबाट पूर्व, पश्चिम, उत्तर, दक्षिणतिर लाग्ने काम भई क्ले (राजा) चिली क्हृयाल्सा हृयुल्सा (सिकलिस) मा र्सछ । अरु तमुहरु तीन समुह भई एक समुह पोजोकों (घनपोखरा), एक समुह कोंड (घान्द्रक) र एक समुह तमुसार (तनहुँ) मा गई बस्न थाल्छ । जतिबेला तमुहरु गण्डकी प्रदेशमा आई पुगेका थिए त्यतिबेला त्यहाँ कुसुण्डा बाहेक अरु जातिको बसोबास नभएको कुरा छ । त्यसपछि हर्ने हो भने तमुहरुको वर्तमान स्थितिको कुरा आउँछ जुन तमुहरुले भोगी रहेकैछ । अब यस विषयलाई यति मात्रै भनेर टुंगो लगाई दिउँ कि । तमु त एउटा वंशको नाम रहेछ जसभित्र जो जति समेटी बसेका छल् सबै आफ्नै मात्र छन् । त्यसो भएपछि तमु बीचमा ठुलो र सानो जातिको कुरा जो छ सबै निराधार र कु-नियतवश फैलाइ दिएका कुराहरु मात्रै हुन् भन्ने पुष्टि भएकोछ । अर्को कुरा तमु जाति गण्डकी प्रदेको आदिवासी भएको कुरा पनि प्रष्ट हुन आएकोछ ।

अब लागौं हिन्दु परिचयतिर । हिन्दु शब्द धर्म र जातिसँग सम्बन्धित शब्द हो । यस धर्म र जातिले वेद, पुराण, नीतिलाई आफ्नो धर्मग्रन्थ मान्दछन्। जुन धर्मग्रन्थ अनुसार मनुष्यले ८४ लाख जुनी भोग्न पर्ने, पूर्व जन्म हुने, देव-देवीको रुपमा मूर्ति स्थापना गरी पुजा गर्ने र वर्णबयवस्था अनुसार मनुष्यको चार श्रेणीलाई छुट्याई ठुलो र सानो जातभात गरी छुवाछुत् प्रथा चलनमा ल्याई वर्णअनुसारको व्यवस्था छुट्याई विभेद गर्ने कार्य सनातानदेखी नै चलाउदै आएकोछ । यो धर्म विश्वको प्रमुख धर्महरु मध्यको एक प्रमुख धर्म हो जुन धर्मको इतिहास हर्दा ज्यादै पुरानो सिन्धुघाँटीको सभ्यता (हरप्पा र मोहन जोरदडो) सँग जोडिएको पाईन्छ । जब ५०,००० (पचास हजार) वर्षपूर्व सिन्धुघाँटी सभ्यताको पतन भएको थियो । त्यसपछि यो धर्म इरान हुदै हिन्दुस्तान आइपुगेको कुरा छ । तर हिन्दुस्तानमा व्यवस्थित हुने काम भने पारणीले संस्कृति व्याकरण लेखेपछि पाँचौं शताब्दीमा आएर भयो । जहाँसम्म नेपालीको सम्बन्ध छ यस धर्मलाई र्सवप्राचिन गोपाल राजवंशभन्दा पनि अगाडीको ऋषिमुनिको युगसँग गाँसेको पाईन्छ भने प्रमाणको आधारमा भन्नु पर्दा ५०० इ. को मानदेवको चाँगुनारायणको मन्दिर भन्दा अगाडि लिएर जान सकिदैन । तर, कुरा यहाँ प्राचिन कालिन हिन्दुको हो जसमा पनि १३औं शताब्दीमा भारतमा मुसलमानको आक्रमण हुँदा चितौडागढबाट भागेर नेपालको पश्चिम भेगमा पस्न पुगेका राजपुत र ब्राम्हण हिन्दु जमातको हो । जुन जमातपछि १४-१५औं शताब्दीमा मगरात, १६औं शताब्दीमा तमुवान, १८औं शताब्दीमा काठमाण्डौ उपत्यकामा पुग्दछ र त्यसपछि २२से -२४से राज्यहरुलाई हर्राई नेपाल एकिकरणको नाममा हिन्दुस्थानको स्थापना गर्दछ । जसको मुल रणनिती फुटाउ र राज गर भन्ने हुन्छ र फुटाउने अस्त्रको रुपमा वर्ण (उचनिच जातिय विभेद) को प्रयोग गर्दछ ।

यति परिचय पछि अब विषयसम्मत कुरालाई अगाडि सार्दा अस्पष्टताको कुनै ठाँउ रहदैन होला । १३औं शताब्दीमा भारतबाट निर्वासित खान, क्षेत्रीहरु र ब्राम्हाणहरु पश्चिम नेपाल र मध्यपश्चिम नेपाल हुँदै तमुवान (गण्डकी प्रदेश) भित्र पस्ने काम हुन्छ । तर त्यतिबेला उनीहरु पश्चिम र मध्यपश्चिम नेपालबाट निर्वासीत भएर होईन कि सत्ता कब्जा गर्दै शासकको रुपमा अगाडि बढिरहेकम थिए । शुरुमा जैन खानले स्याङ्गजा लर्सगको राजा भ्याक्स क्लेकोराज्य कब्जा गरयो । जैन खानको छोरा र्सर्य खानले खिलुङ्ग राज्य हात पारयो र जेठो नाती मिच खानले स्याङ्गजा नुवाकोटलाई जिती त्यहाँको राजा बन्यो । पछि मिच खानको छोरा जगति खान (कुलमण्डल शाही) का सात भाई छोराहरु तमुवानका अन्य राज्यहरुका राजा हुन पुगे । जसमध्ये जगति खानको माहिला छोरा कालु शाही पुरणकोटको राजा भए । राजा भएको तीन महिनामा नै कालु शाहीलाई लम्जुङ्गको राजा थानसिं क्लेले हत्या गरिदिएपछि जगति शाहीलाई ठुलो चिन्ता पर्छ र थानसिंको हत्या गरी राज्य हात पार्ने योजना बनाउछ । जुन योजना मुताविक थानसिं क्ले विरुद्ध तमुहरुलाई नै उक्साएर तमु तमु बिचमा फुट पैदा गराउने रणनिति खेल्छ र केही तमुहरुलाई लोभ लालच देखाएर आफ्नो हातमा लिने काम हुन्छ । त्यसैबेला ९ फाल्गुण १५९४ (इ. १५३७) मा भोजराज पुरोहितलाई लगाएर जगति शाहीले तमु वंशमाथि नै एउटा यस्तो अभद्र शैतानी प्रहार गर्छ जसले तमुभित्र फुट मात्रै होईन बल्कि तमु वंशकै अस्तित्व नष्ट पार्ने झुटो वंशावली रचना गर्न लगाउछ । जुन वंशावली यस प्रकार रहेकोछ:

भरद्धाज गोत्रिय सुर्यवंशी राजाले आफ्नो सिंहाशन जेठो राजकुमार लोचनलाई दिनु पर्नेमा सानो छोरा नोचनलाई दिएपछि राजकुमार लोचन आफ्नो साथमा श्रीमति कली, गर्ग गोत्रिय पण्डितलाई मुकुण्दको छोरा बली र उनकी श्रीमति कशी अनि दास केहर सिंह खवास र उनकी श्रीमति फलीलाई लिएर हिमाल तर्फ योगी बन्छु भनि जाँदा बाटोमा दुइ जना राम्री वेश्याहरुको घरमा बास बसेछ र राती वेश्यहरुले उनीहरुलाई झुक्याएर रक्सी पिलाउने काम र निदाएको बेलामा उनीहरुको जनै (राजकुमार र पण्डित पुत्रको) छिनाएर फ्याक्ने काम गरेर त्यहाँबाट भागेछन । यस्ता काम हुन गएबाट राजकुमार र पण्डित पुत्रको जात पतन हुन गएछ भने राजकुमारले दास केहर सिंहको जात भने बढाएर थापा बनाई उसको हातबाट पकाएको खाना खान हुने गरी फुकुवा गरेछ । यी माथि उल्लेखित कुराहरु कति झुटा छन् भन्ने कुरा स्वतः प्रष्ट भएकोछ किनकी (क) रक्सि झुक्याएर पिलाउन सक्दैन किनकि रक्सिको गन्ध तेज हुन्छ जुन टाढैबाट नाकसम्म आई पुग्छ । (ख) वेश्याहरुले आफ्नै घर छोडी भाग्नु पर्छ भने बिनासित्तै एक पैसा फाइदा नहुने जनै छिनाउनु नै किन परयो र- उनीहरुलाई आफ्नो घर भन्दा एउटा धागोको डोरो कसरी मुल्यवान हुन सक्दछ ? र (ग) खवास जातबाट थापा जातमा जातोन्नत गरी जातलाई उचनिच गर्ने अधिकार भएका राजकुमार र पण्डित पुत्रको एउटै जनै छिन्दा जात नष्ट हुन सक्छ कसरी - यी सबै हावादारी कुराहरु हुन् जसले सिधासादा तमुहरुलाई झुक्याएर फुटाउने काम गरेको र्छलङ्ग हुन्छ । पछि उनीहरु हिमाली गुफामा गई बसोवास गरी बस्दा उनीहरुको सन्तान जन्मने काम भई ती सन्तानहरुको पनि विहावारीको काम गराउनु पर्दा राजकुमार र पण्डितका सन्तानहरुबीचमा विहावारी भएछ जसबाट जन्मेका सन्तानहरु चार महा गुरुङ्ग र खवासका सन्तानको विहावारी भने आफ्नै दाज्यु भाई, दिदी बहिनीबिचमा भई १६ जाते भएको कुरा यस प्रकार उल्लेखछ:

१. लोचन र कली (राजकुमार जोडी) बाट घले महागुरु, घोताने महागुरु र लामा महागुरु छोराहरु र छोरी लक्ष्मी जन्मे ।
२. बली र कशीबाट (पण्डित पुत्र जोडी) लामीछाने महागुरु छोरा र छोरीहरु कुमारी, नारी र माली जन्मे ।
३. केहर सिंह र फली (थापा जोडी) बाट १६ भाई छोरा र १० बहिनी छोरीहरु जन्मिए ।

यसरी भोजराज पुरोहित तमुहरुलाई गोत्र समेत झुण्डाएर क्षेत्री राजकुमार र ब्राम्हाण पण्डितबाट जन्मेको चार जाते (ठुलो जाते) र थापाबाट जन्मेको १६ जाते (सानो जाते) हुन्, चार जातेलाई १६ जातेले सेवा गर्नु पर्छ भनि वंशावली नै बंगाई दियो । यही झुटो वंशावली अनुसार जगति शाहीले तमु बीचमै ठुलो सानोको भेद सिर्जना गरी लम्जुङ्गको चानसिं क्लेलाई सन्धिको बहानामा बालुवा वेशीमा बोलाई हत्या गर्ने काम गरयो । यस हत्याका षडयन्त्रकारी तमुहरुमा काउ क्याला कोन, पुरु क्याला लेम, कुबी क्याला लम र सबै क्याला लम लाई सम्झौता अनुसारको धन, जिमिन जग्गा, इज्जत र शक्तिको व्यवस्था भयो भने लम्जुङ्ग राज्य जस बम शाही (यशोब्रम्ह शाही) को हातमा पर्न गयो ।

दोस्रो वंशावली शिखरनाथ सुवेदीले बनारसबाट थर गोत्र पुवरावलीको नामले बि. सं. १९६८ मा (इ. १९११ मा) प्रकाशीत गरेको थियो जसमा चार जातेहरु राजकुमारहरु भएको र १६ जाते दासहरु भएकाले १६ जातेले चार जातेलाई सेवा गर्नु पर्छ भनेर लेखेको थियो । यस वंशावलीको विरुद्ध कास्की सालडाँडाको मुखिया र्सवजीत क्रोम्छेँ गुरुङ्गले मुद्दा हालेकोमा लेखकलाई बि.सं. १९७८ (इ. १९२१) मा रु. २०/- जरिवाना गरी प्रकाशीत पुस्तक जफत गरिएको थियो ।

तेस्रो वंशावली योगी नरहरि नाथले इतिहास प्रकाशनको नाम राखी मृगस्थलीबाट छपाएको थियो । जसमा लोचन बंदेलबाट आएको देखाईएकोछ । बंदेलबाट माल्वा, चितौड, कुमाउ, डोटी, खुम्री, प्युठान, आर्घा बेनी, लुप्रो दुँदै सिखलिस पुग्छ । गलकोटको घले राजासँग सन्धि गर्छ । कालीगण्डकीमा जनै फालेर हिन्दु धर्म त्याग गर्छ । दुइ छोरा मध्ये फैचनले लामा बिद्या सिकी घले राजाकी छोरी बिवाह गर्छ । फैचनको छोरा रणभिगले पनि सिखलिसको घले राजाकी छोरी विबाहा गर्छ । घलेनीबाट चार छोरा जन्मन्छ जुन चार जाते (ठुलो जाते) र चाकर्नीपट्टि १६ छोराहरु जन्मन्छ त्यसलाई १६ जाते (सानो जाते) भनिएकोछ । कति ठूलो वेइमानहरु हेर त ती शासक र पण्डितहरु, एकैछिन पनि लुकाउन नसकिने ठाडो झुट कुरा लेखेर स्वार्थपुर्तिमा डुब्न पुग्दा पछि आफ्नो नाम इतिहासले वेइमान भनि लेख्नेछ भन्ने कुरा समेत बिर्सन पुगेकोछ । तमुहरुको नाक-नक्शा, कद-काठी, भाषा, भेषभुषा, धर्म, कला-संस्कृति, रहन-सहन, परम्परा साथे बर्साई र्सर्दै आएका थलोकिलो केहीपनि हिन्दु आर्यसँग मेल खादैन र यी कुराहरु बदल्न चाहेर पनि बदल्न नसकिने कुराहरु हुन् त्यसैले वंशावलीलाई यसरी बदल्नु भनेको आफ्नो झुटको बयान आफैले दिनु हो भन्ने कुरा समेतको हेक्का रहेन । जुन कुरा वास्तवमै आज सावित भएकोछ इतिहासमा ती हिन्दु शासक र पण्डितहरु कलंकित भएकाछन् भन्ने यो सही र सत्य प्रमाण हो ।

अर्को प्रमाण त्यही वंशका पछिल्ला शासकहरुले दिएका छन् जुन वि.सं. १८८५ चैत (इ.१८२८) को ताम्रपत्र, वि. सं. १९२४ पुष (इ. १८६७) को लाल मोहर र वि. सं.व१९७८ जेष्ठ १ (इ. १९२१) को भारदारी फैसलाले टन्न भारी पुग्ने गरी प्रष्ट पारेकोछ । चैत्र १८८५को ताम्रपत्रमा भनिएको के छ भने "जुन सुकै थरका गुरुङ्ग भए तापनि गुरुङ्ग हमेसा एउटै र समान थियो । त्यसैले चार जात र सोह्र जात भनेर बनाएको १८८३ वि. सं. को ताम्रपत्रलाई चार र सोह्र जात भन्ने शब्द निकाली शंसोधन गरिन्छ ।" पुष १९२४ को लालमोहरले तमुलाई उच र निच भन्नेलाई रु. २०/- जरिवाना र पुस्तक जफत गरेको कुरा उल्लेखछ । यसरी हिन्दु शासक र पण्डितहरुले आफुखुशी मनगढन्ते वंशावली प्रकाशन गर्ने, अनावश्यक कर लगाई दबाब सिर्जना गर्ने आदि काम गरी तमुहरुलाई फुर्टाई शासन गर्न सफल भयो भने तमुहरु शक्तिहिन भई शासित बनि रहन बाध्या हुनु परयो । यतिले मात्र दुष्ट मनलाई तृप्ति मिलेन र फेरि अर्को मर्म पेल्याइ पेल्याइ कस्सिएर तमुहरुको धर्म संस्कृतीमाथि बज्र प्रहार गरयो ।

त्यो दोस्रो प्रहारको नायक राजा गिर्वाण थियो जसले वि. सं. १८६५ मंसिरमा (इ. १८०८) तमु जातिमाथि दशवटा हिन्दु संस्कार बल जफति लादिदियो र यदि दश हिन्दु संस्कार हिन्दु ब्राम्हाण पण्डितबाट नगर्ने हो भने चाक-चुकाई र मोरो-अपुताली माफी हुने छैन भनि लाल मोहर बनायो । ज-जसले हिन्दु संस्कार माने उनिहरुलाई सुकिलो वर्ण भनियो र सेनामा जागिरे बनाईयो जसले मानेन उनिहरुमाथि विभेद गरियो । बि. सं. १८७५ कात्तिकमा (इ. १८१८ मा) सरकारी चिट्ठी पठाएर भन्यो की- १) कि ब्राम्हाण पुजारी प्रयोग गर्नु, २) कि चाक-चुकाई मोरो-अपुताली तिर्न मञ्जुर गर्नु भनि दुइ मध्य एउटा रोज्नु पर्ने बनायो । तर तमुहरुलाई यो र्सत मञ्जुर थिएन त्यसैले जवाफमा के भनि बिरोध गरे भने "चाक-चुकाई र मोरो अपुताली मञ्जुर छ तर बाहुन पुज्न मञ्जुर छैन" भनि सलामी नै चढाए । अनि बि.सं. १८७५ माघमा (इ. १८१८ मै) लम्जुङ्गका सबै गुरुङ्गहरु, लामा र घलेहरुलाई चाक-चुकाई र मोरो-अपुताली माफी गरिन्छ जन्म र मृत्युमा लामा, क्हृयाब्रीद्धारा चोख्याउनु भनी राजा राजेन्द्रले लालमोहर गरि दिन्छ । वास्तवमा उनीहरुको उद्धेश्या दुइ वटा थियो । एउटा हिन्दु संस्कार लाद्नु, अर्को तमु संस्कार काम तत्काल हुन सकेन यो बिस्तारै बिस्तारै मेटिने क्रम बस्न गयो ।

तर अब तमुहरु अबुझ हुनु भएन । बारम्बार प्रहारबाट दुर्गति भोग्न विवश तमुहरुले पनि शासकहरुको चालामालाप्रति कान ठाडो, आँखा तिखो र बुद्धि फराकिलो पार्दै अब निर्माण हुन गइ रहेको नयाँ नेपालभित्र आफ्नो स्थान कहाँ छ खोज्नु जरुरी छ

 

Update by:

एस् राज घले
गोर्खा नेपाल