तमु जातिको सँस्कार-सँस्कृति कतातिर?

 

तमु जातिको सँस्कार-सँस्कृति कतातिर?
तमु जातिले आफुलाई प्रकृतिका सन्तान मानेकाले प्रकृतिको नियमलाई पालन गर्दै आएको छ। तमुको अर्थ प्रकृतिको सन्तान भनेको हो, तमु जाति प्रकृतिबाट बिकसित हुँदै आएको वंश भनेर तमुको ऐतिहासिक ग्रन्थ "प्ये" मा पढ्दै आएको हामी पाउँछौँ। तमु भाषामा यसरी उल्लेख गरिएको छ कि स, केई, मु, केई, म्हि, केई भन्ने पाईन्छ, भन्नुको अर्थ धर्ती र आकाशको जन्म भएपछि मात्र यस धर्तीमा मानव जातिको जन्म भएको हो भनी पढिन्छ। यो भनाइ आजको एक्काईसौँ शताबदीका वैज्ञानीकहरुको अनुसन्धानसँग मेल खाएको देखिन्छ। तमु जातिको पुरोहित पच्यु,क्ल्हेप्रीले आफ्नो प्ये मा यसरी व्याख्या गरेको पाईन्छ कि तमु भाषामा क्ल्हे (पिता-आकाश) प्र्हेस्यो (आमा-धर्ती) को माध्यमबाट उत्पत्ति भएकाले तमु भाषामा क्ल्हेसोँदी प्र्हेसोँदी, स.फु.ती. क्य्हल्सर केब भनेर आफ्नो कुल देवता र कुलदेवीलाई तमु भाषामा "खेमा" भनेर पुज्दै आएका छन। यसमा सम्पूर्ण मानव समाजका जन्मदाता परमापिता एउटै देखिन्छ। यसका उदाहरण हिन्दी भाषामा उपरवाला' भनेर माथि आकाश देखाउँछन। मुस्लिमहरु "खुदा" भनेर आकाश नै देखाउँछन। ईसाईहरु पनि "गड" भनेर माथि आकाश नै देखाउँछन। चिनियाँहरु पनि हुन्तु भनेर आकाश नै देखाउँछन।
 
यसबाट के प्रमाणित हुन्छ भने सम्पूर्ण मानव जाति प्रकृतिकै सन्तान रहेछ। आमाको बारेमा हिन्दी भाषामा "धर्तिमाता" भनेर भनिन्छ। अँग्रेजीमा "मदरल्यान्ड" भनेर भनिन्छ। चिनियाँ भाषामा "हुन्फु" भनेर भनिन्छ। हामी तमु भाषामा "प्र्हेसोँदी" भनेर धर्ती पहाड पर्वतलाई पुज्दै आएका छौं। आमाको सम्बन्धमा पनि सम्पूर्ण मानव समाजको एकै धारणा देखिन्छ। यही आधारलाई लिएर तमु जातिले आफ्नो मूल धर्म नै कुल धर्म मान्दै आएको छ। तमु जातिले व्यक्ति भगवानको धारणा भन्दा प्रकृतिको नियाममा बढी विश्वास मान्दै आएका छन।

धर्मगुरु भन्ने व्यक्ति भगवानको धारणा यस्तो पाईन्छ, ब्राह्मणको जन्म मुखबाट शुद्रको जन्म पाउबाट भएको भनेर लिखिएको पाईन्छ। आजको २१ औँ शताब्दीको शिक्षित युगका शिक्षित ब्राह्मणहरुसँग प्रश्न राख्न चाहन्छु- के साँच्चै तपाईं ब्राह्मण मुखबाट र शुद्र पाउबाटै जन्मनु भएकै होला त? तपाईंलाई जन्म दिने मुख र पाउ भएको मानव कहाँबाट जन्मेको होला त? उहाँलाई जन्म दिने आमा थिइन वा थिइनन होला? यदि थिइन भने गर्भधारण मुख र पाउमा हुन्थ्यो होला? प्रकृतिका नियामलाई मान्ने हो भने सम्पूर्ण प्राणी जातिमा स्त्री, पुरुषको मिलन र जन्म लिने नियम एउटै देखिन्छ यही नै सत्य हो।
 
आजको २१ औँ शताब्दीको वैज्ञानीक युगमा काल्पनिक भावनाले होइन प्रमाणको आधारलाई विश्वास मान्नेलाई बुद्धिमानी ठानिन्छ। यही युगमा अर्को मानवरुपी भगवानको धारणा यस्तो पाईन्छ। पशुपन्छीलाई आफु स्वयंले काटेर प्राण हरण गरेको मासु खानु हुन्न, हत्या हिंसाको पाप लाग्छ भनिएको पाईन् तर अरु व्यक्तिले काटेको, रेटेको छरखुट्टा बाँधेर र मुटुमा छुरी रोपी कराउँदै प्राण लिएर मारेको पशुपन्छी र माछाको मासु खान, हत्या हिंसा पाप छैन भनिन्छ। धर्मात्माहरुसँग प्रश्न राख्न चाहन्छु- साँच्चै अरु मान्छेले काटेको, रेटेको मुटुमा छुरी धसी मारेको, प्राणी हत्या र पाप होइन त? तपाईंले हो वा अर्कोले हो प्राणी हत्य गरेको त हो नि होइन र? अचम्म लाग्दा धर्मात्माहरु पाईन्छन।
 
हामीले देखेका छौं मासु खाने ग्राहकको मागअनुसार कसाई वा नोकरले पशुपन्छी काट्छन। यहाँ प्रश्न उठछ मासु खान्छु हामीलाई मासु चाहियो काट भन्ने मान्छे हत्यारा कि मालिक वा ग्राहकको माग वा आदेश मानेर पशु काट्ने नोकर वा कसाइलाई हत्यारा नमान्ने? वा पैसा कुम्लाएर काट भनेर बेच्ने व्याक्तिलाई हिंसा र हत्यारा मान्ने कि नमान्ने? विचारणीय कुरा देखिन्छ। एउटालाई मात्र हत्या हिंसाको दोषी भनी कसरी भन्न सकिन्छ? मासुबिना खाना नै नखाने तर प्राणी हत्याको दोष अर्कालाई लगाउनेहरु धर्मगुरु बनेर बसेका छन। आज मनिसहरु सृस्‍टिकर्ता प्राकृतिक भगवानलाई भुलेर हामी जस्ता मानवलाई भगवान बनाएर पुज्दैछन। एक्काईसौँ शताब्दीका शिक्षित युगमा मानवले मानवलाई हाम्रो भगवान, तिम्रो भागवान, हाम्रो धर्म तिम्रो धर्मको नाममा प्रकृतिका सन्तान चेतनशील मानवले मानवलाई हत्या, हिंसा गर्ने स्वार्थीहरु आफ्नो अनुकुल छ भने सबै उचित र प्रतिकुल छ भने हत्या, हिंसा भन्ने शब्द नै साह्रै नराम्रो मानिन्छ तर तमु समाजमा हजारौँ वर्ष अघिबाटै खे,म, पित्री सँस्कार कर्मकाण्डमा पशुपन्छी काटेर र पुज्ने परम्परालाई हत्या, हिंसा र पाप गर्‍यो भनेर केही तमुहरुले ठुलो आवाज उठाएका छन। अब कस्-कसलाई हत्या, हिंसा मान्ने? प्रश्न उठ्दछ।
 
के छोराछोरीको शुभ-विवाह् कर्ममा पशुपन्छी काटेको, मारेको हत्या हिंसा मान्नेकी नमान्ने? आफू मासुबिना खानै नखानेहरुको कसाई वा नोकरले काटेको पशुपन्छीलाई हत्या हिंसा मान्ने कि नमान्ने? फेवातालको किनरमा बसी हिमाल हेरी खसीको सेकुवा खाएर मज्जा लिनुहोस् भनेर एफ एम द्धारा प्रचार गर्नेहरुलाई पशुपन्छीका हत्यारा मान्ने कि नमान्ने? सेकुवा कहाँबाट आउँछ? काटेर मात्र आउँछ, होटलका निम्ति खसी काट्नेवालालाई हत्यारा, पापी मान्ने कि नमान्ने? गुरुङ गाउँहरुमा आजसम्म मौलामा पशुपन्छी काट्दैछन, त्यस्तालाई हत्या हिंसा मान्ने कि नमान्ने? छोरा ब्रिटिश आर्मीमा भर्ती होस भनेर भाकल गरी काटेको पशुपन्छीको हात्या हिंसा मान्ने कि नमान्ने धर्मात्मा तमुहरुले आफ्नो धारणा स्पस्ट पार्नुपर्ने देखिन्छ।
 
केही गुरुङ्हरु आज पशुपन्छीको हत्या, हिंसाको दोषी लगाएर तमु भाषामा आधारित सँस्कार,सँस्कृति नै मेटाइदिने षड्यन्त्र रचेको पाईन्छ। मानौ तमु समुदायले आफ्नै सँस्कार सँस्कृतिमा पाप हिंसा र हत्या मानेर पशुपन्छी नकाटौंला रे के यो पशुपन्छी बूढो भएर आफै मर्न देलान त? के तपाईं हामीहरु आफै नरेको सिनु पशुपन्छी मात्र खान्छौं त? आफै मरेको सिनु पशुपन्छीको मासु बेच्ने अभियोग लगाएर कसाईमाथि मुद्धा लगाएको देखेका छौ? आफै मरेको सिनु मासुखाने जात अछुत भनेर प्रकृतिका सन्तान मानवले मानवलाई होच्याएको पनि देखेका छौं। बर्डफ्लु बिमारी पन्छी खान हुँदैन भनेर दक्षिणपूर्वी एसियाली देशका दश करोड पन्छी कराउँदा कराउँदै जिउँदै खाल्टोमा पुरेको संसारले देखेको छ, यो हत्या हिंसा मान्ने कि नमान्ने? प्रश्न गर्न चाहन्छु? २०६४ श्रावण महिनामा लेखनाथ न.प.मा २१६ कुकुर मारेको थियो।

यदि हत्या र हिंसा हो भने खोइ त धर्मात्मा गुरुङ्हरुले विरोध गरेको? पसुपन्छी काट्नु पाप हो,हिंसा हत्या हो भन्ने धर्मात्मा गुरुङ मित्रहरुसँग म प्रश्न गर्न चाहन्छु मानव जातिले वा तपाईं हामीहरु स्वयं यी पशुपन्छी के का लागि पालेका हौँ? के रहरले पालेका हौँ ? के रमाइलोका लागि पालेका हौँ? के खेल्नका लागि पालेका पालेका हौँ?वा पुज्नका लागि पालेका हौं? होइन खेतीका लागि पालेका हौ भने खेती खाँदा हत्या हिंसाका दोषी तमु जातिलाई मात्र किन लगाउँछौ। खेती भन्ने बुद्धिका धनी प्राणीमा सर्वश्रेस्ठ मानव जातिको आवश्यकता पूर्तिको निम्ति पालिन्छ र लगाइन्छ यही नै सत्य हो,यही नै मानव जातिको परम्परा हो। सबैले देखिरहेकै छौं खेतीको नाममा माछापालन, बँगुर, कुखुरा भेंडा र बाख्रापालन गरेका छन।
   
खेती भनेपछि धान मकै होस् वा पशुपन्छी होस् एउटै मानिन्छ? खेती खाँदा पाप र धर्मको कुरो उठाउने हो भने मानव कसरी जीवित रहनसक्छ? प्रकृतिका नियमलाई अनुसन्धान गर्ने हो भने धान, मकै, कोदोमा पनि प्राण भएको बुझिन्छ। यसको प्रमाण यी अनाज वालीहरु धर्तीमा छरिदिएपछी विरुवा उम्रन्छन। धान कुटेर मकै, कोदो पिनेर नस्ट गरेकोलाई प्राण हत्याको पाप मान्ने कि नमान्ने? हत्या, हिंसाका नारा लगाएर खाना नै नखाएर आत्महत्या गर्नेलाई मुर्ख,अबुझ,अज्ञानी मानिन्छ। मानवले भगवान बनाएको मान्छेकै उपदेश मान्दै जाने, सुन्दै जाने हो भने जन्म लिन पनि घोर पाप देखिन्छ।
 
आजको वैज्ञानीक युगमा पनि बच्चा जन्मदा हजारौँ आमाहरुको प्राण गएका छन, प्राण जानको मूल कारण बच्चा हो। अब त्यो बच्चालाई आमाको हत्यारा, पापी भन्ने त? यी मानवरुपी भगवानका उपदेशमा कसैलाई कस्ट नदिनु भनेको छ। जन्मलिँदा आमालाई ठुलो कस्ट दिएको हुन्छ स्वयं तपाईंका मानव भगवान जन्मिंदा, अव त्यो भगवानलाई पापी, अधर्मि मान्ने कि नमान्ने? प्रकृतिका नियममा पाप र धर्मका शब्द नै छुट्याईएको छैन जस्तो लाग्छ। पाप हत्या हिंसा भनेको त एउटा चेतनशील प्राणी मानवलाई धर्मको नाममा अर्को धर्मावलम्बीलाई हत्या हिंसा र आतंकित गर्ने मार्नेशक्तिको आड लिएर महिलालाई बलात्कार गर्ने, निर्बलको सम्पत्ति खोस्ने, अङ्ग-भङ्ग, अपाङ्ग बनाउने, भुटा आरोप लगाएर दु:ख दिनेलाई पो हत्यारा पापी मान्नुपर्छ।
 
अचेत पशुपन्छी र धान मकै कोदो आफुले प्राण धान्नका लागि लगाएको र पालेको खेती खाँदा हिंसा र पापको कुरा आउँदैन। हामी प्रकृतिका नियममा मात्र विश्वास राख्छौँ, सृस्‍टिकर्ता परममाता, पिता तमु भाषामा क्ल्हेसोँदी, प्र्हेसोँदीले आफ्नो सन्तानलाई जीवनदानका निम्ति स्वयंले खाने आहारा रचिदिएको सबैले स्पस्ट देखिरहेकै छौं। यसको प्रमाण बच्चा जन्मने बित्तिकै आमाको दूध आउन थाल्छ। यस धर्तीमा जन्म लिने जो कोही पनि प्राणी भोकले मरेको हुँदैन, आवश्यक यो हो प्रत्येक प्राणीले आफ्नो खाने आहारा खोज्नुपर्छ, कर्म गर्नुपर्छ। उदाहरण पशुको बच्चालाई हेरेका छौं, चारखुट्टा टेकिसकेपछि प्रथम काम दूध खोज्न जान्छ, यही सत्य हो।

यी धर्तीमा जन्मने प्राणीहरु एकले अर्कालाई खाएर प्राण धानेको देखिएको छ। उदाहरण पशुले पशु,पन्छीले पन्छी,कीराले किरा, माछाले माछालाई आफ्नो आहारा बनाएको देखेका छौं। यी प्राणीहरुमा पनि एउटाभन्दा अर्को बलवान देखिन्छ। विषका मालिक सर्पलाई माकुराले मारी खाएको देखेका छौं। पानीका राजा गोहीको बच्चा भ्यागुताले खाएको देखेका छौं। हात्ती घोडा जस्ता बलवान र बुद्धिका धनी मानिसको रगत भुसुना लामखुट्टेले खाएको हेरेकै छौं। तपाईंले लामखुट्टेलाई मारेको हत्या हिंसा र पाप मान्ने कि नमान्ने? समय अनुकुल सबै प्राणी शक्तीशाली देखिन्छ, कसलाई निर्वल भन्ने? कसलाई पापी हत्यारा कसलाई धर्मात्मा मान्ने? यही नै प्रकृतिको नियम देखिन्छ।

प्रकृतिको नियमलाई यी मानवरुपी भगवान धर्मका ठेकेदारहरुले चाहेर पनि परिवर्तन गर्न सक्दैनन। आज प्राकृतिक धर्ममा विश्वास राख्ने नेपालका आदिवासी भुमिपुत्र तमु भाषामा पे पढ्ने तमुका पुरोहित पच्यु क्ल्हेप्रीलाई मानव जातिका खाने खेती पशुपन्छीका हत्यारा पापीको दोष लगाएर केही गुरुङ्हरुले सामाजिक बहिस्कार गरेका छन। साँचो कुरा त यो हो कुनै पनि जातिको पहिचान भनेको सम्बन्धित जातिका भाषा भेषभुषा र सँस्कार सँस्कृतिलाई मानिन्छ। तर आज केही गुरुङ्हरुले तिब्बती भेषभुषा तिब्बती भाषामा गैरगुरुङ्को ईतिहाँस पढेर तिब्बती सँस्कार सँस्कृति गर्ने लामा धर्मलाई मानेर आदिवासी तमु जातीलाई प्रवासी तिब्बाती शरणार्थी बनाएको पाईन्छ।

अब प्रश्न उठ्छ:
अब तमु जाति कतातिर प्रवासी कि आदिवासी ?
तमु भेषभुषा कि तिब्बती भेषभुषा ?
तमु सँस्कार र सँस्कृति कि तिब्बती सँस्कार र सँस्कृति ?
तमु भाषा कि तिब्बती भाषा ?
तमु खे मा कुल धर्म कि ॐ कार हिन्दुका शाखा महायानी लामा धर्म ?
खेमा पित्री पूजा कि हिन्दु लामाको मानवरुपी देवता पूजा ?
उचित निर्णय गर्नु तमु बुद्धिजीवी वर्गको दायित्व हुनजान्छ।

 

update by:

एस् राज घले
गोर्खा नेपाल