तमुजातिको गन्तव्य

 

उत्पत्तिः

तमुजाति सफुँती क्ह्याल्सा उत्तर चीनको कोकोनोर ताल (कुकोली म्हार्स्यो) बाट उत्पत्ति भै मंगोलिया, सोही तालबाट बनेको नदी किनार आदि सुविधायुक्त स्थान खोज्दै चीनको मंगोलिया, तिब्बत आदि (चीना ट्हो, मंग्यु ट्हो) हुंदै नेपाल (ठिनी क्ह्याल्सा, क्होलसोँप्रे ट्हो, क्होलासोँथर) प्रवेश गरेको कुरा यस जातिको अलिखित मौखिक शास्त्र (प्ये) र किम्बदन्तीमा उल्लेख गरेको पाइन्छ।

तमु र गुरुङ एकै होः

कुनै पनि जाति भनेको उपाधि हो, जुन आदि पुर्खाले कमाएर वंशजमा हस्तान्तरण गरेको हुन्छ। यो कुरा गुरुङ जातिमा पुष्टि भएको पाइन्छ । यो जातिलाई नेपाली भाषामा गुरुङ भने पनि गुरुङले गुरुङ भाषामा आफूलाई तमु भन्दछ। स्व. टेकसिं प्हैमो तमुले केर्लोमा सफुती क्ह्याल्साका पहिला राजा क्रसिरीले दिएका निर्देशनहरुलाई बाह्रमहाबौद्धहरुले तमु भनी समर्थन गरेकाले पछि तिनका सन्तानको जातीय नाम थर नै तमु रहन गएको कुरा उल्लेख गरेका छन् । त्यस्तै तमु प्ये ल्हु संघका संस्थापक सदस्य हाल महानिर्देशक भोवर पाल्जै तमुले मनाङ जिल्लाको उत्तरी भेग नारमा तिब्बतबाट आई बसेको वोन्पो लम द्बारा तमुजातिलाई उच्च सम्मानको पद गुरु शब्द परिभाषित भयो र पछि अरु जातजातिबाट भिन्न पहिचानको रुपमा तमु शब्द कम प्रयोग भई गुरुङ (गुरुको अङ्ध) शब्द प्रचारित भयो भनेका छन् ।

सामाजिक व्यवस्थाः

तमुजातिमा मामा चेला फुपु चेला सोलीडोली चल्छ। त्यसैले नेपालको कानूनमा हिन्दू धार्मिक परम्पराअनुसार जेसुकै भए पनि गुरुङको हकमा मामाको छोरी रोजीरोजी फुपुको छोरी खोजीखोजी बिवाह गर्ने परम्परालाई मान्यता दिएको पाइन्छ। जीव वैज्ञानिक (अनुवांशिक) दृष्टिकोणले उपयुक्त नभएकोले अचेल यसलाई छोड्नुपर्ने तर्क शिक्षित वर्गको छ। खेगी चोँगी र पैंडी यस जातिका सामाजिक व्यवस्थापनका अभिन्न अगं हुन्। खेगी पुरोहित, चोँगी जजमान (गन्यमान्य भद्रभलादमी) र पैंडी ज्योतिषी। सामाजिक काम कुरामा कुनै नयाँ कामको थालनी वा कामकाज गर्ने क्रममा विवाद पर्‍यो भने खेगी, चोंगी (जजमान भद्रभलादमी) र पैंडी (ज्योतिषी) सबै एकै ठाउँमा भेला भएर कस्तो प्रक्रियाले त्यो कार्य सम्पन्न गर्ने भन्नेे कुराको निर्णय खेगीले गर्दछ। कुन चाहिं काम गरेमा सबैको भलो हुन्छ भन्ने कुराको निर्णय चोंगीले गर्दछ। कुन तिथि मिति पारेर कार्यारम्भ गरेमा शुभअशुभ के हुन्छ भन्ने कुराको निर्णय पैंडीले गर्दछ । तमु समुदाय राष्ट्र निर्माणको धरोहर बन्न सक्नुमा यिनै ऐतिहासिक परम्पराको पृष्ठभूमीले ठूलो योगदान पुर्‍याएको छ।

पुरोहित र तिनका दायित्वः

जुनसुकै समाजमा पनि पुरोहितको स्थान उच्च हुन्छ। ऊ समाजमा सम्मानित एवम् प्रतिष्ठित हुन्छ। विज्ञ विद्वान भन्दा सर्वसाधारणको नजीक पुरोहित नै हुन्छ। त्यसैले समाजलाई सही दिशामा डोर्‍याउने दार्शनिक पनि उनै पुरोहित हुन्। तमुजातिका पुरोहित तीन किसिमको उल्लेख गरेको पाइन्छ। कुनै पनि काम सम्पन्न गर्नको लागि तीनै पक्षलाई आ आफ्नो कार्य सुम्पेको देखिन्छ। रोग ब्याधी पन्छाउने (मोँ सैवा) पच्यु। मृतकको मृतात्मलाई बाटो देखाउने (क्याँ थोँवा) र पितृको आत्मासँग लीन गराउने (थाकैवा। क्यारवा) क्ल्हेब्री। भूतप्रेत रोग व्याधी हटाई ह्राँह्रीं गरिसकेपछि स्वस्ति शान्ति गर्ने (क्याँ छोँवा।स्योवा) बोन्पो लम पुरोहितहरु (पच्यु, क्ल्हेब्री र बोन्पो लम) लाई तमुजातिले खेगी भन्ने गर्दछ।

विशिष्ट पहिचानः

निज भोवर पाल्जै तमुका अनुसार कथित र मिथ्य तमु इतिहास लेख्नेले जेसुकै लेखेपनि तमुजातिको सामुहिक संरचना भनेको मंगोल वंशज तीन समूहका ११ थर र तिनका उपथरहरुका संगाला हुन् । प्रत्येकका उत्पत्ति कथा बेग्लै छन् । जुन हिन्दू वर्ण व्यवस्था अन्तर्गतको जातप्रथामा पर्दैन। त्यसकारण यस समुदायमा उँचनीच छुवाछुतको भेदभाव छैन । केवल नौथरे, तीन र चार उपथरे (कुगी, सोँगी र प्लिगी) सम्मिलित समतामूलक समूहको समुदाय रहेको पाइन्छ । श्री नेपाल सरकारले आफ्नै भाषा तथा परम्परागत रीतिरिवाज भएको तर हिन्दू बर्णश्रम व्यवस्थामा नपर्ने समुदायहरुलाई जनजाति indigenous को रुपमा परिभाषित गरी नेपालमा भएका जातजातीय समुदायहरुलाई सूचीकरा गरिसकेको छ। यी मध्ये नेपाल अधिराज्यमा तमु समुदाय पनि बिशिष्ठा पहिचान भएको एक प्रमुख आदिवासी जनजातिको समुदाय (Ethnic Group) हो। जसको आफ्नै भाषा, संस्कृति तथा पुर्ख्यौंली परम्परा छ ।

नेपालको इतिहासमा तमु (गुरुङ):

१६ औं शताब्दीमा पर्वतको भुरुङदीखोलादेखि गोरखाको आँखुखोलासम्म फैलिएको तमु ह्युल ठकुराई राज्यहरुले दख्खल गरे। कास्कीका राजा सामरी क्ले मारिएपछि तमु एकताको लागि बसेको ६० जना जनप्रतिनिधिहरुको छोंजमा राय तीनतिर बाँडियो। यसरी छलफलमा राय बाझिएकाले मादी खोला किनाराको नजीकको ठाउँलाई सोँताँ भनियो। तिनीहरु बाँडिएर तीनतिर छुटिएको ठाउँलाई सोँम्लाँ भनियो। क्ले राजाहरुको पतनपछि तमुहरु कास्की, लमजुङ, तनहुं र गोरखाका ठकुरी राजाहरुको फौजमा सक्रिय भए। ई.सं. १५५९ मा लमजुङका राजा द्रव्य शाहले गोरखा सर गर्दा उनको साथमा १८ तमुहरु उमराँव (कमाण्डर) थिए। गोरखाली राज्य बिस्तारका बेला तमुहरुलाई फौजमा जानुपर्ने उर्दी नै थियो।

समस्याः

अनुशासित, इमान्दारी, लगनशील, कर्तव्यनिष्ठ, उत्तरदायी, मिजासिलो स्वभाव र स्वच्छ छवि भएको व्यक्तित्वहरुको सुसंस्कृत, सुगठित र शान्त समाजको रुपमा उदाहरणीय समुदाय यही तमु समुदाय हो। यिनै स्वभावले गर्दा यो समुदाय नेपालमा मात्र होइन विश्वमै ख्याति आर्जन गर्न सफल भएको पाइन्छ। यो समुदायभित्र प्रवेश गरेर औंलो दिंदा डुडुल्नो निल्ने स्वभावका मान्छेले यो समुदायलाई राज्यच्यूत गरेर यही समुदायलाई हतियार बनाई यिनैमाथि राज गरे। तमु राज्यलाई बलबाट दख्खल गरिएको थियो भने तमु प्ये छ्याम्या (रीतिथिति) बुद्धि द्बारा अतिक्रमण गरियो।ट यो समुदायको मौलिक धर्म संस्कृतिलाई छेदबिच्छेद पारे। अझै पनि यो समुदाय शान्तै भै समृद्ध बनेर बसिरहेको देखिन्छ। तर विज्ञान प्रविधिको विकास र समयको अन्तरालले यस समुदायको सोंचमा परिवर्तन आएको देखिन्छ। अब विचार नपु र्‍याउने हो भने यो सामुदायको सांगठनिक संरचना तहस नहसै हुने अवस्थामा पुगेको छ। जसले समाजमा तनाव उत्पन्न गराएको छ। बिगतमा स्थापित परम्परागत मूल्य र मान्यतालाई परित्याग गरेर आधुनिक मूल्य र मान्यता स्थापना गर्ने कोशिस गरिएको छ। त्यसो गर्दा सबै भताभुङ्ग हुने अवस्था सिर्जना भएको छ। किनभने सबै उभिने जग यही तमु समुदाय हो, सबैको टेको यही धर्ती हो, त्यही आस्था हो, त्यही परम्परा हो। मूल्य मान्यता उही पुरानै ठीक छ, त्यसलाई जोगाउनुपर्छ भन्ने नयाँ कुरा स्थापना गर्न चाहने, मोही माग्ने ढुङ्ग्रो लुकाउने काम भैरहेको छ। एकातिर हामी एक हुनुपर्छ, एक भएमा हाम्रो प्रगति हुन्छ भन्दै हिंडेका छौं भने अर्कोतिर तमुधीँ, तमु छोजधीँ, समन्वय परिषद, तमु बौद्ध सेवा समिति, तमु प्ये ल्हु संघ, बौद्ध अर्घौं सदन आदि इत्यादि नामले सानोसानो ईकाईमा विभाजित भएर बसेका छौं । अरुले मान नदिने आफूलाई मान नभै नहुने त्यसैले आफूले आफैलाई पगरी गुथाएर ठूलो मान्छे बन्ने मपाईत्व चरित्र प्रदर्शन गरेर हिडिरहेका छौं । दुनियाँलाई यानत्यान अनेक भन्ने आफू चाहिं नाङ्गै हिड्ने गरेमा दुनियाँले के भन्छ? त्यतातिर पनि विचार पुर्‍याउनु पर्ने देखिन्छ ।

तमु पुरोहितको इतिहासः

पच्युले नामरु पुजा गर्ने गोठ र खर्कको रक्षाको लागि हो। जुन बेला हामी पशुपालन युगमा थियौं। क्ल्हेप्रीले गर्ने सिल्दोनाल्दो पुजाले कृषियुगमा प्रवेश गरेको जनाउँछ। पच्यु क्ल्हेप्री संस्कार जातीय कर्ममा आधारित छ। मृतात्मलाई पुर्ख्यौंलीको लोकमा लीन गराउने। लमधर्म भने सांसारिक मायाजालबाट व्यक्तिलाई निर्वाण नजीक पुर्‍याउने रहेको छ। मनाङबाट सन् ५०० तिर केही तमुहरु अन्नपूर्ण हिमश्रृखलाको दक्षिणी भेग (क्होलसोँप्रे ट्हो) मा एकताबद्ध भएर बसे। खेती किसानयोग्य रमणीय स्थान देखेपछि फेरि पनि मनाङ र मुस्ताङबाट अरु तमुहरु आए। त्यहाँ चिमी हुइँडुको अर्घौं गरेर उसको मृतात्मलाई तार्न सफल भएपछि मुस्ताङको लिप्रो म्हार्सोबाट आएको क्ल्हेप्रीहरु राजपुरोहित बने। पैतृक रुपले प्राय गरी ल्हेंगे र क्रोम्छे थरबाट पच्यु अनि टु र म्होब्छे थरबाट क्ल्हेब्री हुन्थे ।

तमुजातिमा पच्यु सबभन्दा पुरानो पुरोहित मानिन्छ भने त्यसपछि क्ल्हेप्री आउँछ। धेरै विधिमा यिनीहरु दुवै पुरोहितहरु उस्तै छन्। ती दुवैले एकै भाषा प्रयोग गर्छन्। ती दुवै चोँ नाँस भएर आदि पुर्खाको लोकसँग सम्बद्ध छन् तर तेस्रो पुरोहितको रुपमा बोन्पोलमले तिब्बती भाषामा शास्त्र (छ्योय) पढछ, जुन तमुहरुले बुझ्दैनन्। अचेल तमु समाजमा चौथो पुरोहितको रुपमा विशेष प्रकारको महायानी लामाको उदय भएको पाइन्छ । जसमा केही तेस्रो (वोनपो लम) पुरोहितहरु पनि परिवर्तित भएका छन् । मुख्य यज्ञहरुमा क्ल्हेप्री र वोन्पो लमलाई पच्युको साथ चाहिन्छ। तर नयाँ लामालाई तिनीहरु कोही पनि चाहिंदैन । उनीहरु आफूलाई बुद्धकै आशीर्वाद पाए जस्तो गर्छन् तर बौद्ध ग्रन्थबारे त्यति ज्ञान पाएको देखिन्न । त्यसैले यिनीहरु देखेर तिब्बती लामाहरु आश्चर्य चकित छन् । जे भए तापनि उनीहरु कम शिक्षित समाजमा प्रभाव जमाउन समर्थ भएका छन् र त्यस परिणामले हाल बोनवादी र बौद्ध मार्गी दुवैथरीलाई असर पारेको छ । मुस्ताङमा पच्युको निम्ति फलिप्रो म्हार्सों र क्ल्हेब्रीको निम्ति लिप्रो म्हार्सों गरी दुई गोटा क्होइवो (गुम्बा) हरु थिए ।

तमुजातिको इतिहासको पहिलो पानामा पच्यु (स्यामाँ क्ह्रोलु) लाई जन्माएको छ भने पच्युको इतिहासबाट क्ल्हेब्रीको जन्म भएको छ र त्यसपछि पच्यु र क्ल्हेब्रीको इतिहासबाट लमको जन्म भएको छ। सबैलाई आआफ्नो कार्यको लागि शक्ति संरचना गरेको छ जुन शक्ति पञ्चमहाभूत शक्तिहरुको समग्र रुप हो। जसलाई तमुकी (चोंक्युई) मा सारगी ह्रोरै फैला करने क्ह्याला छ्योवा नामले पुकारिन्छ। यही शक्तिको शरणमा हामी परमप्रभु परमेश्वर क्ल्हेनमे प्ह्रेनमे क्ल्हेसोदी प्ह्रेसोंदीको प्रार्थना गर्दछौं, जसलाई शक्तिको मूल रुप (स्रोत) मान्दछौं। पच्युले यिनै शक्तिको आधार लिएर मोँ सैवा (ह्राँ स्योवा) अर्थात् मोंकु, चैंकु, ट्हीकु, थाकु, रिकु गर्ने गर्दछ र क्ल्हेब्रीले पनि यही शक्तिको आधारमा परमप्रभु परमेश्वर क्ल्हेसोंदी प्ह्रेसोंदी) को प्रार्थना गर्दै ह्रो स्योवा (क्याँ थोंवा) गर्ने गर्दछ। अर्को बेग्लै काम क्ल्हेब्रीले थाँ क्यारवा गर्दछ। पच्यु क्ल्हेब्रीले ह्राँ ह्रीँ पन्छाइसकेपछि लमले क्याँ छोँवा (स्योवा) गर्दछ। ओम मने पेमे हुँ को विधि गर्छन् जसलाई नेपाली भाषामा बुझ्ने गरी भन्नुपर्दा स्वस्ति शान्ति (च्याम्पर ट्हुण्टा) भनिन्छ। पच्युले दुष्ट आत्म (मोँ) लाई तन्त्रमन्त्र लगाएर विधिपूर्वक मार्नुलाई मोँ सैवा ख्राल चैंवा क्याँ तेवा भनिन्छ भने क्ल्हेब्रीले नौ तालमा नाच्नु भनेको पच्युले मारेर ढली राखेका दुष्ट आत्महरुको लासलाई पन्छाउँदै बाटो सफा गर्नुलाई क्याँ थोँवा (स्योवा) भनिन्छ। यसरी बाटो सफा गरीसकेपछि लम गुरुहरुले मृतकको शुद्ध आत्मलाई मने पेमे हुँको मन्त्रोच्चारणले अझ शुद्ध बनाई इचै देवा चैंगी सिङामा पुर्‍याउन क्याँ छोँवा (स्योवा) विधि गर्दछ ।

निष्कर्षः
नेपालमा धेरै जातजातिहरु छन्। धेरै भाषा र संस्कृतिहरु छन्। समग्रमा यी सबै नेपालका सम्पत्ति हुन् तर आज यिनमाथि पनि बिक्रृतिले प्रहार गर्न खोजेको आभास जताततै पाउन थालिएको छ। हुन त मानव सभ्यताको सुरुदेखि प्रचलनमा आएको हाम्रा मौलिक परम्परागत संस्कृति आधुनिक युग सापेक्ष नदेखिएलान्। समय र युग सुहाउँदो नहोलान् तर त्यसमा समय सापेक्ष सुधार गर्दै लाने र युग सुहाउँदो बनाउने कर्तव्य पनि हाम्रै हो। यसो गर्न सकेमा सर्प पनि मर्ने लठृी पनि नभाँचिने हुन्छ। हामी हाम्रो संस्कृतिलाई प्रगतिशील र उन्नतिशील रुपमा हेर्न चाहन्छौं। हामी चाहन्छौं संसारका जुनसुकै मानिसले पनि हाम्रो भेषभूषा र संस्कारलाई अंगाल्न सकून्। हाम्रो संस्कृति वैज्ञानिक हुनुपर्छ। विज्ञान सम्मत हुनुपर्छ। जुन संस्कृति विज्ञान सम्मत हुन सक्दैन जुन भेष र भाषा युग सापेक्ष र ग्रहणयोग्य हुंदैन। त्यस्तो परम्परालाई तुरुन्त त्याग्नुपर्छ। हाम्रो परम्परा हामीले धान्न सकेनौं भने हामीले कुनै दिन हाम्रो धर्मलाई त्यागेर विधर्मी बन्नु पर्ने परिस्थिति आउन पनि सक्छ।ज्ञज्ञ बिना खेगी संस्कारको तमु अन्य बौद्ध मार्गीमा बिलाएर जाने हुनाले आफ्नो प्ये छ्या जोगाउनैपर्छ। यसको लागि तमु संस्कारलाई समय र ठाउँ सुहाउँदो सुधार गर्नु आवश्यक छ।

तमु हुने तमुजातिको एतिहासिक गौरवगाथामा गर्व गर्ने र यस जातिको सुन्दर भविष्य चाहने हो भने हामी सबै एकमत हुनैपर्छ । हामी एकमत हुंदासम्म हाम्रो आफ्नै राज्य थियो। निश्चित भूमीमा सार्वभौमसत्ता सम्पन्न तमुजाति जस्तो आफू उस्तै च्यापु ठान्ने निश्छल स्वभावले गर्दा अर्काको कुटिल जालमा फँसेर राज्यको भारदार बन्यौं। जालमा फसिसकेपछि पनि धार्मिक, राजनैतिक जालमा परेर विभाजित भै सर्वसाधारण जनता (रैती दुनियाँ) बनेका छौं। अझै पनि आफू, आफ्नो जाति र यसको इतिहासबारे स्पष्ट नहुने हो भने हामी राज्यको असल नागरिक एवम् सर्वश्रेष्ठ चेतनशील प्राणी मानव जातिको दायराभित्र पर्न सक्दैंनौं। यस दायराभित्र आउन हामी सचेत भै मानवीय, जातीय एवम् नागरिक हक अधिकारको लागि एकजुट भएर अगाडि बढ्नुपर्छ। होइन भने हाम्रा अग्रज अभिभावक र दिग्गज विद्वानहरुले भएभरको विरोधाभाषी तमु संस्था खोलेर हामीलाई कहाँ लैजान खोजेका हुन्? हाम्रो गन्तव्य के हो? निश्चित दिशा (रोड म्याप) देखाउन सक्नुपर्छ। समाज भाँड्ने, समाजलाई कुमार्गमा डोर्‍याउने र समस्यामाथि समस्या थप्ने कार्य गर्नु बुद्धिमानी होइन । समस्या पहिचान गरेर समस्या समाधान गर्न सक्नुपर्छ । तब मात्र यथार्थमा तमुजाति हुनुमा गर्व गर्न सकिन्छ ।

 

update by:

एस् राज घले
गोर्खा नेपाल