तमु(गुरुङ)बीचको जातीय विभाजन

      

                अर्को नयाँ नजिर - तमु(गुरुङ)बीचको जातीय विभाजन

 

सरल, इमान्दार र परिश्रमी गुरुङहरुलाई गुरुङ राजाको पतनसगै ठकुरीवंशका राजा तथा कट्टरहिन्दू ब्राह्मणवादीहरुले भेदभावपूर्ण नीति थोपार्दै आएको कुरा इतिहासमा प्रष्ट छ । गुरुङहरुले आफ्‍नै पुरोहित पच्यु, क्ल्हेप्री र लमद्धारा सम्पन्न गरिने कार्यहरुलाई बन्देज गर्ने षड्यन्त्र पनि नभएका होइनन् । हिन्दू धर्म मान्नै पर्छ भन्ने खालका उर्दीहरु पनि तत्कालिन हुकुमी शासनले गरे भने गुरुङ गुरुङबीच विभाजन ल्याउन गुरुङलाई नै हातमा लिएर षड्यन्त्र पनि गरेको इतिहास ताजै छ । जस्तै सन् १८०८ को लालमोहर र १८१६ को ताम्रापत्र, १८१८ को आदेश तथा लालमोहर र १८२६ को ताम्रापत्र यसको ज्वालन्त उदाहरण हुन् । यसबाट के कुरा स्पष्ट हुन्छ भने गुरुङहरुले आफ्‍नो बोन धर्म र पुरोहित पच्यु, क्ल्हेप्री र लम छाडी बाहुन पण्डित लगाई हिन्दूधर्ममा लाग्न विभिन्न खालको षड्यन्त्र गरेको पाइन्छ । उदाहरण स्वरुजप तिमी गुरुङ गैह्रले कूल धर्म भनी लम घ्याबृबाट अर्घौं गर्दा रहेछौं, अब उप्रान्त कुल धर्म भनेको ब्राह्मण उपाध्यायबाट दस कर्म गर्नु, शुद्ध, शान्ति गर्नु र ब्राह्मणबाट कर्म गराउनु भनी तात्कालिन राजा गीर्वाणयुद्ध वीरविक्रम शाहले लागू गरेको सन् १८०८ को लालमोहर बाट प्रष्ट हुन्छ । दश किसिमको कर्मकाण्डमा गुरुङ पुरोहित छाडेर बाहुन पण्डित लगाउनु भनेको आफ्‍नो कुलधर्मबाट अलग गर्ने षड्यन्त्र स्पष्ट छ । यसरी नै सन् १८१६ को ताम्रापत्रमा गुरुङहरुले अब आइन्दा कर्मकाण्डमा बाहुन पुरोहित नै लगाउनु भन्ने उर्दी थियो । यसैगरी सन् १८१८ को आदेशअनुसार गुरुङहरुले कर्मकाण्डमा बाहुन पुरोहित लगायो भने चाक चकुई अपुताली (तिरो, कर) तिर्नु नपर्ने र लम तथा घ्याबृ लगायो भने चाक चकुई अपुताली (तिरो) तिर्नुपर्ने जस्ता विभेदपूर्ण नीति लिएको थियो ।

राज्यसत्ताबाट गरिएका विभेदपूर्ण नीतिबाट पनि गुरुङहरु त्यसबेला विचलित भएनन् र सबै गुरुङहरु एक हौं भन्ने भावनाले तत्कालिन सरकारसग संवाद र वार्ता गर्दै आएको कुरा इतिहासमा भएका लालमोहर, ताम्रापत्र, आदेश आदिबाट प्रष्ट हुन्छ । गुरुङहरुलाई बोन धर्मबाट अलग्याएर हिन्दूधर्म लाद्नको निम्ति गरिएको षड्यन्त्रबाट निस्केको परिस्थितिलाई साम्य पार्न सन् १८१८ कै लालमोहरमा लमजुङका सबै गुरुङ, घले, लमलाई चाकचकुई (तिरो) माफ र मर्दापर्दा लम र घ्याबृबाट नै चोखाउनु भन्ने नरम नीति अपनाएको देखिन्छ भने सन् १८२६ को ताम्रापत्रमा घले र लमहरुलाई चाक चकुई (तिरो) अपुताली माफ गरी गुरुङहरुको पहिलेदेखि चलिआएको रीतिरिवाज लम, घ्याबृ नै लगाउनु तर हिन्दूकर्म ब्राह्मणबाट नै गराउनु भनी हिन्दूधर्ममा पनि लाग्नुपर्छ भनी केही नरम नीति लिएर षड्यन्त्र गर्‍यो र गुरुङबीचमा फाटो ल्याउने काम गर्‍यो । सन् १८२६ को ताम्रापत्रले के स्पष्ट पारेको छ भने घले र लमहरुलाई तिरो तिर्न नपर्ने र अन्य गुरुङहरुले तिरो तिर्नुपर्ने जस्ता विभेदपूर्ण नीति अवलम्बन गर्‍यो । एउटै देशका नागरिकले हिन्दू धर्म मान्नेलाई कर तिर्नुपर्ने र सो नमानेमा कर तिर्नुपर्ने गरी विभेदपूर्ण नीति लियो । चर्को कर तिर्ने आफ्‍नो हैसियत नभएका गुरुङहरु हिन्दू धर्ममा लाग्न बाध्य बनाएको सन् १८१८ को आदेशबाट प्रष्ट हुन्छ ।

आफ्‍नो कुल धर्म बोन धर्ममा प्रतिबद्ध भएका गुरुङहरु हिन्दू धर्म लाद्ने काम पूर्ण सफल नभएपछि गुरुङ गुरुङ बीचमा फाटो ल्याउन शासकहरुले अर्को रणनीति लिएको देखिन्छ । जसअनुसार भारतीय भूमिबाट नेपाल प्रवेश गरेको षड्यन्त्रमूलक मनगढन्ते वंशावलीहरु लेखेर फाटो ल्याउने काम गर्‍यो । गुरुङहरुलाई जनैधारी र जनै नलगाउने आर्यवंशी बनाउदै कथित चार र सोह्र मा विभाजन गरी ठूलो र सानोको सोंच दिएर झगडाको बीउ छर्ने काम गर्‍यो । राज्यबाट कसैलाई काखा र कसैलाई पाखा लगाई झगडा गराउने काम भयो । शिक्षा र चेतनाको अभावमा राज्यको यस्तो षड्यन्त्र सबै तमुहरुले बुझ्‍न सकेन । राज्यले काखी च्यापेका गुरुङहरुले आफ्‍नो स्वार्थ पूरा गर्न यी मनगढन्ते कुरालाई बुझपचाएर शिरोधार्य गरी मलजल गर्ने काम पनि भयो । तमुहरुलाई फुटाउने षड्यन्त्रलाई बुझेका लेफ्‍टिनेन्ट कर्णेल लक्षिमान गुरुङले यसको विरोध गरे । जसका कारण सम्वत् १९२४ मा जंगबहादुरको समयमा चार र सोह्रको झगडा छिन्ने विषयमा सदनपत्र जारी भयो । जसमा सबै गुरुङहरु समान छन्, जातले कोही ठूलो र सानो छैन भन्ने उल्लेख छ ।

तर यस्तो फैसला भएपनि फाइलमा मात्र सीमित रह्यो र चार र सोह्रको भेदभावको अन्त्य भने भएन । हाम्रै गुरुङहरुका एकदुई जनाले बुझपचाएर यसै कथित ठूलो र सानोको कुरालाई निरन्तरता दिंदै विभिन्न लेखकहरुले आफ्‍ना पुस्तकमा बढाइचढाइ उद्धृत गर्न पछि परेन । त्यस्ता लेख प्रकाशन गर्नेहरुविरुद्ध हाम्रो समाजले कारवाही गर्न सकेन । २०४६ को जनआन्दोलनपछि स्थापित बहुदलीय व्यवस्था अनुसार संघसंस्था खोल्ने लहर चल्यो । जसमा गुरुङको थुप्रै संघसंस्था स्थापना भए तापनि गुरुङहरुलाई विभाजन गर्ने विरुद्धमा कुनै कार्यक्रम दिन भने सकेन । यद्यपी गुरुङ संघसंस्थाहरुको कार्यक्रममा भने कथित चार र सोह्रको अन्त्य हुनुपर्छ, हामी एक हौं भन्न भने पछि परेन । यसका साथै बहुदलीय व्यवस्थामा गुरुङहरुको संघसंस्थाले भने आफ्‍नो जातीय भेषमा भने ठूलै प्रगति गरेको छ । त्यसका साथै लोपोन्मुख भाषालाई संरक्षण गर्नुपर्छ भनी व्यक्तिगत वा संस्थाले गुरुङ भाषाका विभिन्न पुस्तक प्रकाशन गर्दै आइरहेको छ ।

यसै सन्दर्भमा लोपोन्मुख भाषालाई अगाडि बढाउने क्रममा तमु बौद्ध सेवा समिति नेपालले वि.सं. २०५९ मा तमु/नेपाली/अंग्रेजी अर्थात् त्रैभाषिक तमु शब्दकोश प्रकाशन गर्‍यो। तर तिनै षड्यन्त्रकारी वंशावलीमा प्रयोग गरिएका विभेदकारी शब्दावली सो शब्दकोशमा पनि दोहोरियो । शब्दकोश विमोचन भएको सात महिना पछि प्रकाशक संस्थाले तमु समाजलाई फुटाउने उद्देश्यले प्रकाशन नगरिएको भनी समितिले सार्वजनिक क्षमायाचना पनि माग्यो । तर ढिलोगरी आएको क्षमायाचनाबाट असन्तुष्टी व्यक्त गर्दै कास्की पोखरा निवासी सु. चन्द्रमणि गुरुङ र लेखनाथ निवासी शेरबहादुर गुरुङले प्रकाशक संस्था तथा सम्पादक मण्डलविरुद्ध काठमाडौं जिल्ला अदालतमा वि.सं. २०६० मंसिर १९ गते मुद्दा दर्ता गर्‍यो । सो मुद्दाको बारेमा काठमाडौं जिल्ला अदालतले २०६१ चैत ५ गते मुद्दा दावी पुग्न नसकेको भनी खारेज गर्‍यो । काठमाडौं जिल्ला अदालतबाट सुनाएको फैसलाले तत्कालिन वादी सु. चन्द्रमणि गुरुङ र शेरबहादुर गुरुङको चित्त बुझेन र २०६२ असार ७ गते पुनरावेदन अदालत पाटन ललितपुरमा रिट दायर गरे ।

 

यता गुरुङहरुको साझा संस्था भनेर चिनिने तमु राष्‍ट्रिय परिषद्ले तमुहरुबीचको यो झगडालाई टुलुटुले हेरेर बस्न पनि मिलेन । फलस्वरुप तमु राष्‍ट्रिय परिषद्ले २०६० पुस ३ गतेको बैठकमा आदिवासी जनजाति महासंघका महासचिव डा. ओम गुरुङको अध्यक्षतामा सात सदस्यीय तमु शब्दकोश समस्या समाधान उच्चस्तरीय छानविन समिति गठन गर्‍यो । यस समितिले आफ्‍नो प्रतिवेदन निकै ढिला गरेर एकवर्ष पछि अर्थात् २०६१ पुस ५ गते मात्र समितिमा पेश गर्‍यो । तमु राष्‍ट्रिय परिषद्ले मुद्दालाई टुङ्गो लगाउन २०६२ भदौ ११ गते डा. गणेशमान गुरुङको अध्यक्षतामा त्रैभाषिक शब्दकोश विवाद समाधानार्थ एक उपसमिति गठन गर्‍यो र उपसमितिले आफ्‍नो काम कारवाही अगाडि बढायो । यता तमु प्ये ल्हु संघले पनि समर्थन गरेको मुद्दा भएको हुनाले तमु प्ये ल्हु संघलाई पनि एक उपसमिति गठन गरी सहयोग गरिदिन तमु राष्‍ट्रिय परिषद्ले अनुरोध गर्‍यो र सोही अनुसार तमु प्ये ल्हु संघका महानिर्देशक भवर पाल्जे गुरुङको नेतृत्वमा पाच सदस्यीय त्रैभाषिक शब्दकोश विवाद समाधानार्थ सहयोग समिति गठन गर्‍यो । दुवै उपसमितिबीच विभिन्न मितिमा पटकपटक बैठक बस्यो र पटकपटक सम्पन्न बैठकले मूल मुद्दामाथि छलफल गर्दै सहमतिका विन्दु खोज्ने काम गर्‍यो । फलस्वरुप तमु शब्दकोशबारेको मुद्दालाई दुवै तवरले टुङ्‍गो लगाउने निधो भयो र टुङ्‍गो लगाई छाड्यो ।

दुवै समितिको निष्कर्षअनुसार दुवै पक्षबाट सहमति कायम गर्ने र तमु संघसंस्थाका पदाधिकारीहरुको उपस्थितिमा सामाजिक न्यायका आधारमा मिलापत्र गरी मुद्दाको अन्त्य गर्ने र एक ऐतिहासिक नजिर स्थापित गराउने थियो । यस उद्देश्यअनुसार दुवै समितिको पहलमा २०६२ माघ ६ गते पुनरावेदन अदालत ललितपुरमा मिलापत्र गरी मुद्दालाई सदाको लागि टुङ्‍गो लगायो भने सोही दिन राष्‍ट्रिय परिषद्को आयोजनामा तमु संघसंस्थाका पदाधिकारीहरुको उपस्थिति तथा डा. हर्क गुरुङको प्रमुख आतिथ्यमा सामाजिक न्यायाका आधारमा एक मिलापत्र गरियो । त्रैभाषिक तमु शब्दकोशको मुद्दालाई सामाजिक रुपमा टुङ्‍गो लगाउने काम भयो र एक ऐतिहासिक नजिर प्राप्त गर्न सफल भयो ।

Dr. Gover's apology letter

तमु संघसंस्थाका पदाधिकारीहरु उपस्थिति रहेको सो बृहत भेलामा मुद्दा दायरकर्ता सु. चन्द्रमणि गुरुङ र शेरबहादुर गुरुङलाई विद्धान डा. हर्क गुरुङले गुरुङ संस्कारअनुसार फेटा लगाई दिनुभई बधाई स्वरुप सम्मान गरिएको थियो । एक्काइसौं शताब्दीमा पनि उच र नीचको भावना राख्नेहरुलाई औंला ठड्याई खबरदारी गर्ने बहादुरर्‍यलाई तमु बौद्ध सेवा समिति नेपाल र तमु प्ये ल्हु संघ द्धारा संयुक्त रुपमा क्रेगीस्वरुप प्रदान गरिएको एक लाख रुपैया तमु प्ये ल्हु संघले सञ्चालन गर्न लागेको खेगी विद्यालयका निम्ति लगानी गर्ने घोषणा गर्नुभई संघका महानिर्देशक भवर पाल्जे तमुलाई हस्तान्तरण गर्नु भएको थियो । यस पटकको सन्देशलाई सम्पूर्ण तमु समाजमा सम्प्रेषण गर्नुपर्नेमा सबैको एक मत थियो । यसअघि पनि तमु समान छन्, कोही साना र ठूला छैनन् भन्ने थुप्रै कानुनी नजिरहरु भएपनि यसपटकको मिलापत्रलाई नयाँ नजिरको रुपमा लिनु पर्दछ । अब जति पनि गुरुङ संघसंस्थाहरु छन् उनीहरुले आफ्‍नो वार्षिक कार्यक्रममा एक दिन अर्को नयाँ कार्यक्रम राख्नुपर्छ । त्यो के भने माघ ६ गतेका दिनलाई अब गुरुङ संघसंस्थाहरुले एकता दिवसको रुपमा मान्नुपर्छ । किनकि गुरुङ गुरुङ बीचमा भइरहेको ठूलो र सानो तथा चार र सोह्रको विभेदलाई यस ऐतिहासिक नया नजिरले समाप्त पारेको छ । र यो नयाँ नजिरलाई सबैले मान्नुपर्छ र गाउगाउ र देशका कुना कुनामा यो सन्देश सबै संघसंस्थाहरुले पुर्‍याउन जरुरी छ । तब मात्र गुरुङ एकता हुन्छ, नत्र भने गुरुङ एकता भनेर भाषण छाट्नुको कुनै अर्थ रहदैन।

Apology letter from Ratna Gurung

सामाजिक न्यायको आधारमा गरिएको मिलापत्रका शर्तहरू

१. हाल तमु बौद्ध सेवा समिति नेपालबाट प्रकाशित भएको गुरुङ नेपाली अंग्रेजी शब्दकोशमा जातीय विभाजन ल्याउने खालको साम्प्रदायिक र त्रुटिपूर्ण शब्दहरू धेरै ठाउमा समावेश भएको र गुरुङ जातिको मौलिक धर्म संस्कृति जनाउने कतिपय शब्दहरूको अपव्याख्या भएको तथा कतिपय शब्दहरूको नाम गुरुङ भाषामा हुदाहुदै पनि नेपाली (खस) भाषा र हिन्दी भाषाको समेत प्रयोग भएकाले यस्तो शब्दकोष कालान्तरमा एउटा आधिकारिक दस्तावेजको रूपमा रहेसम्म यस्ता विवादहरू आइरहने हुनाले यो शब्दकोषमा भएका विभेदकारी तथा अन्य सबै आपत्तिजनक शब्दहरू पूर्णरूपमा हटाई अर्को नया छुट्टै परिमार्जित शब्दकोश प्रकाशन गर्ने।

२. भविष्यमा तमु संस्थाहरुले शब्दकोश प्रकाशन गर्नुअघि गुरुङ भाषा तथा संस्कृतिका ज्ञान राख्ने गुरुङ विद्धान तथा गुरुङ अग्रजहरु सम्बन्धित गुरुङ संघसंस्थाहरूलाई अनिवार्य रुपमा पाण्डुलिपि उपलब्ध गराउने र उहाहरूको सहयोग तथा सुझाव लिने ।

३. त्रैमाषिक शब्दकोष प्रकाशन गर्ने संस्था तमु बौद्ध सेवा समिति नेपाल र सम्पादक डा. वारेन ग्लोवरले शब्दकोशमा भएको गल्तीप्रति लिखित रूपमा क्षमा याचना गरी सकेका छन् भने अर्का सम्पादक रत्नबहादुर गुरुङले पनि मौखिक रूपमा आफ्‍नो असावधानीताको लागि क्षमा मागेका छन् । तथापि त्यति मात्रले सबै पक्षको चित्त नबुझेको हुदा शब्दकोश प्रकाशन गर्ने संस्था तथा सम्पादन गर्ने व्यक्तिहरूलाई गुरुङ संघसंस्थाका प्रतिनिधिहरूको सभामा क्षमा याचना गर्न लगाउने । यस्तो सभाको आयोजना गुरुङ (तमु) राष्‍ट्रिय परिषद्लाई गर्न लगाउने ।

४. शब्दकोशका अन्य संग्रहकर्ताहरू, प्रकाशन उपसमितिका सदस्यहरू तथा शब्दकोश प्रकाशनमा सहयोग पुर्‍याउने अन्य सहयोगीहरू शब्दकोशको प्रकाशनमा प्रत्यक्ष वा परोक्ष रूपबाट संलग्न भएको भए तापनि उनीहरू कुनैबाट पनि यस्ता विभेदकारी शब्दहरू उपलब्ध नगराएको प्रमाणहरू छन् । तर पनि आफ्‍ना असावधानीप्रति नैतिक रूपमा उनीहरू सबैले सार्वजनिक रूपमा नै गल्ती महसुस गर्नुपर्ने हुन्छ र निम्न वि.सं. २०५९ सालमा प्रकाशित शब्दकोशमा परेका विभेदकारी शब्दहरूको पाना हटाई बाकी शब्दहरु राखी अर्को नया पानाहरु छपाई समावेश गर्ने, अन्तिम पेज पनि शुद्धशुद्धिको सूची समावेश गर्ने र माथिल्लो कभर पेजमा संशोधित प्रति भन्ने छाप लगाउने। उक्त कार्य आजको मितिबाट तीन महिनाको अवधिभित्र प्रकाशकले पूरा गरिसक्नुपर्ने, सोअनुसार नगरिए यो मिलापत्रको वर्खिलाप भएको ठहरिने छ । त्यस्तो विवादित शब्दकोश अब आइन्त अर्को संस्करण प्रकाशन नगर्ने समेतका सम्बन्धमा पुनरावेदन अदालत ललितपुरमा मिलापत्रअनुसार गर्ने । अब सो मिलापत्रमा लेखिएको भावना प्रतिकूल असर पार्ने काम व्यवहार कोही कसैले नगर्ने र सो मिलापत्रको कुरालाई हामीले नजिरको रुपमा स्वीकार गर्ने कुरामा हामी मन्जुर गर्दछौं ।

५. चार जात र सोह्र जात तथा ठूलो जात र सानो जात जस्ता विभेदकारी शब्दको उच्चारण कहीकतै र कसैबाट नगर्ने । कसैले गरे चर्को सजायको व्यवस्था गर्ने । त्यसको लागि चेतनामूलक कार्यक्रम अभियानकै रूपमा गाउ स्तरसम्म पुर्‍याउने र त्यसका लागि सबै गुरुङ संघसंस्था, बुद्धिजीवी, भद्रभलाद्मी, विद्यार्थी, संचारकर्मी तथा कानुनविद्ले आ आफ्‍नो क्षेत्रबाट सक्रिय भूमिका निभाउने । उल्लेखित चर्को सजायको सन्दर्भमा यसरी अघि हाम्रो गुरुङ जातिमा सानो र ठूलो भनेबाट विवाद हुदा वि.सं. १९२४ मा सामाजिक स्थिति बसाल्न सबै गुरुङ समान हुन् । जसले सानो ठूलो भन्छ उसलाई २० २० रुपैया जरिवाना गर्नु भनी लालमोहर समेत भएको र शिखरनाथ सुवेदीले थर गोत्र प्रवरावली भन्ने नामले चारजात गुरुङ राजपुत सोह्र जात गुरुङ कमाराको सन्तान भनी लेखिछपाएकोमा रु. २० जरिवाना हुन्छ भनी मिति १९७८ २ १ मा भारदारीबाट फैसला समेत भएकाले यस्ता मुद्दामामिलासमेत परी निर्णय भएको कुरामा अहिले २१ औं शताब्दीमा पनि यस्ता विभेदजन्य कुरा व्यवहारमा गर्नु नितान्त निन्दनीय हुन्छ । कसैले कतै अझै पनि यस्ता कुरा र व्इवहार गरे सामाजिक वहिष्कार गर्ने ।

६. प्रकृतिवादी र लामावादीको बीचमा यस्तो विभेद चर्को रुपमा उठेको पाइन्छ । धर्म व्यक्ति वा समुदायको आफ्‍नो व्यक्तिगत आस्था हो । त्यसकारण अब उप्रान्त गुरुङहरूको शुभअशुभ कार्यमा पच्यु, क्ल्हेप्री वा लामा जसलाई प्रयोग गरेपनि कर्ताको स्वेच्छा र स्वतन्त्रतामा छोडीदिने । कर्तालाई यो वा ऊ प्रयोग गर वा गर्नुपर्दछ भनी कुनै व्यक्ति वा समूह वा गुरुङ संघसंस्थाले हस्तक्षेप नगर्ने वा दबाब नदिने अन्यथा सजायको भागी हुने ।

७. कुनै पनि संचारमाध्यमद्वारा गुरुङ समाजको एकतामा आच आउने वा गुरुङ जातिको आत्मसम्मानमा चोट पुर्‍याउने खालको लेख रचना, गीतसंगीत, कथा, कविता प्रकाशन गर्न र चलचित्रहरूको निर्माण तथा प्रदर्शन गर्नका निम्ति कानुनबमोजिम प्रतिकारमा उत्रने । सो कार्य गरेमा त्यसको सबै क्षेत्रबाट विरोध गर्ने र त्यसलाई दण्डसजायको व्यवस्था गर्ने गराउने ।

८. विद्यालय, महाविद्यालय तथा विश्वविद्यालयहरूमा पढाइने पाठ्क्रमपुस्तकहरूमा गुरुङहरूको आत्मसम्मानमा चोट पुर्‍याउने तथा उनीहरूबीच विभाजन ल्याउने खालको चारजात सोह्र जातको अध्ययन अध्यापन अझै हुने गरेका छन् । त्यसलाई हटाउनको लागि पनि गुरुङ संघसंस्था र बुद्धिजीवीहरूले पहल गर्ने । गुरुङ नेपाली इङ्लिस डिक्शनरी समर इन्स्टिच्युट अफ लिङ्ग्युष्टिक र त्रिभुवन विश्वविद्यालय काठमाठौंको संयुक्त सहयोगमा सन् १९७७ मा प्रकाशित शब्दकोशका बारेमा सो शब्दकोशका सम्पादक W.W. Glover, J.R. Glover र Deu Bahadur gurung समेतका उपरमा र वि.सं. २०५९ सालमा प्रकाशन भएको गुरुङ नेपाली अंग्रेजी शब्दकोशका सम्बन्धमा सो को सम्पादक तमु बौद्ध सेवा समिति नेपालका उपरमा सो विवादित शब्दकोशमा परेका विभेदकारी शब्द हटाउने बारेमा काठमाडौं जिल्ला अदालतमा मुद्दा परी सो उपर पुनरावेदन अदालत ललितपुरमा समेत पुगी अदालतबाट २०६२/१०/०६ मा मिलापत्र गरिने भएको छ । सो मिलापत्र गर्नका लागि उहा हरूले समेत वादी पक्ष सु. चन्द्रमणि गुरुङ र शेरबहादुर गुरुङले सो मुद्दामा उठाउनु भएका विवादित शब्दकोशमा परेको शब्दहरू आफ्‍नो असावधानीका कारण पर्न गएको भनी सो शब्दकोशका सम्पादकहरूका तर्फबाट सार्वजनिक रुपमा पनि स्वीकार गरिसक्नु भएको छ । W.W. Glover ले त सो को बारेमा क्षमा समेत मागी सक्नु भएको छ । सोही आधारमा सो मुद्दाहरूमा अदालतबाट मिलापत्र समेत भएकोमा सो मिलापत्रको भावनाका कुरामा कसैले तलमाथि नहुने गरी सबै तमुहरूले पालना गर्ने गराउने कुरामा सबै तमुसग सम्बन्धित संघसंस्थाहरूले आआफ्‍नो क्षेत्रबाट जोडदार कार्य गर्दै जाने ।

९. गुरुङहरूको जातीय एकतालाई अरु बढी मजबुत र सुदृढ पार्न तमु बुद्धिजीवीहरू र तमु संघसंस्थाहरूको पहलमा हाल शब्दकोशको विरुद्ध मुद्दा दिएका सु. चन्द्रमणि गुरुङ र शेरबहादुर गुरुङलाई अदालतबाट नजिर लिइएतापनि सामाजिक न्यायको आधारमा समेत मिलापत्र गराउने । यसका लागि तमु प्ये ल्हु संघ पोखरा नेपाललाई विशेष अनुरोध गर्ने । सु. चन्द्रमणि गुरुङ र शेरबहादुर गुरुङको मुद्दामा लागेको खर्च शब्दकोश प्रकाशन गर्ने संस्था तमु बौद्ध सेवा समिति नेपाल, तमु राष्‍ट्रिय परिषद् र तमु प्ये ल्हु संघ केन्द्रीय समितिलाई शोधभर्नास्वरुप क्रेगी गर्न लगाउने ।

१०. गुरुङहरूको आफ्‍नै पहल र आपसी समझदारी, मैत्रीपूर्ण छलफल तथा सरसल्लाहद्वारा शब्दकोश समस्याको समाधान भएको सन्देश विभिन्न माध्यमद्वारा नेपालका सम्पूर्ण तमुहरू समक्ष पुर्‍याउने ।

११. यस शब्दकोशमा भएका गल्ती कमजोरीहरूलाई समयमा नै औंल्याएर सबै तमुहरूलाई सचेत बनाउने र तमु एकतामा योगदान पुर्‍याउनुहुने सबै तमु संघसंस्था र व्यक्तिहरूलाई विशेष धन्यवाद दिने ।

गुरुङ समाजमा विभाजनको रेखा कोर्ने कुतत्व र ती षड्यन्त्रकारी कुकृत्यको अवशेषका रुपमा तमु समाजमा विद्यामान अज्ञानताका कारण बारम्बार यस्ता असमझदारी र विवाद अझसम्म देखा परेका छन् । तमु समाजमा यसले पारेको दूरगामी कुप्रभावबारे हामी कोही अनभिज्ञ छैनौं, हामी स्वयं भुक्तभोगी हौं। यसले हामीलाई मर्माहत पारेका ज्वलन्त उदाहरणहरू प्रशस्त छन् । अझ गुरुङ गाउ हरू यसबाट ज्यादै प्रभावित भएका छन् । हामी तमुहरू सबै समान हौं । तमुका सबै थर समान छन् । तमु प्ये ताँ ल्हु ताँ अध्ययन गर्ने हो भने यसबारे पर्याप्त प्रमाण पाइन्छ । यसबारे विगतमा भएका फैसलाका कानुनी नजिरहरू हामीसग सुरक्षित छन्। अतः अज्ञानता र असावधानीवश भएका यस्ता गम्भीर भुल र यसले सिर्जना गरेका असमझदारीताले हामीलाई अलमल्याइरहेको छ । अतः अब उप्रान्त हामीबीच विभाजन गराउने यस्ता तत्वहरूबाट सजग र सचेत रहदै गम्भीर गल्ती नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त गर्दछौं । विभेदकारी शब्दावली प्रयोग भएका पाठ्यसामग्रीबारे चेतना अभियान बढाउने दृढताका साथ विपक्षका रुपमा देखिएका हामीहरूले शब्दकोश विवाद समाधानार्थ समितिद्वारा प्रस्तुत दस्तावेज अध्ययन गरी चित्त बुझेकाले यस मिलापत्रमा हस्ताक्षर गर्‍यौं । हामी द्वारा दायर मुद्दालाई परम्परागत सामाजिक न्यायबाट बदर गरिएको घोषणसमेत गर्दछौं ।

 

UPDATE BY

S. RAJ GHALE