तमु कि गुरुङ सम्बन्धमा प्रतिक्रिया

एस् राज घले  गोर्खा नेपाल

kathmandu Nepal,

Email: someka_ghale@yahoo.com

ठाकुरप्रसादजी,
हार्दिक अभिवादन ।

सर्वप्रथम तमु सुँ वर्ष २१ अंक १४ खिल्होसार, २०६२ (सन् २००६) पृष्ठ ३१ मा प्रकाशित मेरो तमु कि गुरुङ भन्ने लेख पढेर पत्राचार र फूलैफूलको गुच्छाले भरिएको प्रशंशा पत्ररुपी शब्दमालाको लागि यहाँलाई धेरै धेरै धन्यवाद टक्रयाउन चाहन्छु । स्वीकार गरी दिनु हुन्छ होला भन्ने पूर्ण विश्वस्त छु ।

यहाँले अनुमान गर्नुभए जस्तो विज्ञ विद्वान् त म होइन, जसले यहाँको सबै जिज्ञासा पूरा गरी दिन सकोस् । म एउटा गुरुङ भाषा संस्कृतिको विकास गरिनुपर्छ, जसको विकास भएमा गुरुङजातिको पनि स्वतः विकास हुन्छ भन्ने पक्षमा वकालत गर्ने मान्छे हुँ । त्यो वकालत गर्दै जाने क्रममा आसपास, दायाँबायाँ र अघिपछिका कुराहरु कोट्याउने र खुट्याउने काममा लागेको छु। अन्तिम निष्कर्ष दिने गरी खुट्याउन नसके पनि कोट्याउन त सकिन्छ नि भनेर हामी तमुजातिको बारेमा लेखिएका इतिहासको पानाबाट मैले भेट्टाएर ती कुराहरु लेखेको हुँ । खुट्याउने र अन्तिम निष्कर्ष दिने काम तपाईजस्तै विज्ञ पाठक महानुभावको हो । जुन काम यहाँले गर्नुभयो । यसले मलाई अझ कलम तिखार्ने र मेरो लेखन सीप निखार्ने काममा हौसला मिलेको छ ।

इतिहास जित्नेको लेखिन्छ हार्नेको लेखिंदैन र लेखेको भेटिन्छ नलेखेको भेटिंदैन। यसका साथसाथै लेखिएको इतिहास असत्य पनि हुन सक्छ भने नलेखिएको इतिहास लोकोक्ति (जनबोली) सधैं सत्य हुन्छ। हाम्रो राज्य हरिएको थियो। हामी हारेका थियौं। शक्तिले नसकेर बुद्धि लगाएर हाम्रो संस्कृति माथि अतिक्रमण गरिएको थियो। जसको परिणाम ४ जात र ३६ वर्णको फूलबारीको मन्त्र फुकेर हामीलाई ४ र १६ बनायो । प्रकृतिले नर नारी बनायो । धर्म गुरुले सानो र ठूलो बनायो । सत्ताधारी शक्तिले फुटाउ र शासन गर नीति अनुरुप हामीलाई त्यसको पनि टुक्राटुक्रा बनाई दियो । हामी सोझालाई भनिदिए पछि पुग्यो । त्यसैलाई लिएर आजसम्म लडाई झगडा गरिरहेका छौं । अरुले यसैबाट फाइदा लुटिरहेका छन्। जात्रा हेरिरहेका छन्। मजा लिई रहेका छन् । अब पनि हामी चटके नै बनि रहने हो भने हामी कहिल्यै उँभो लाग्न सकदैनौं। हेर्नेलाई हेर्नै मजा लाग्छ र जसरी हुन्छ देखाउने काम मात्र गरिरहोस् भनेर त्यसतर्फ उक्साइ रहन्छ। हेरेर मजा लिने भएपछि देखाउनेलाई पनि देखाउने रहर मात्र लागी रहन्छ। त्यत्तिमै मजा मानी रहने हो भने हाम्रो सोचाईमा परिपक्वता कहिल्यै आउदैन । हामीले जे कुरा पनि गम्भीर भएर सोच्ने र काम गर्नुभन्दा पहिले ३ पटक सोचेर काम गर्नु पर्ने हुन्छ। होइन भने स्वार्थीहरुले स्वार्थ लुटिरहन्छन्। आखिर मर्कामा पर्ने उही लाटा सिधा हुन्। टाठाबाढाले फाइदा लिने हुन्। हो कि होइन? ल हेर्नुस्, हाम्रो आफ्नै पनि मातृ भाषा छ, होइन? मैले अर्काको भाषामा तपाईलाई मेरा मनका भावना व्यक्त गरिरहेको छु। यो पनि दुखद् कुरा हो। हामीले आफ्नो मातृ भाषालाई लत्याएर अर्काको भाषा अंगालेका छौं र त्यो भन्दा पनि दुःखको कुरा हामीलाई त्यै अर्काको भाषा नबोली धित मरे जस्तो लाग्दैन। सबैभन्दा राम्रो त त्यो हो कि तपाई मातृ भाषा लगायत अन्य भाषामा पनि पोख्त हुनुहुन्छ । मातृ भाषा बोल्दा पनि विभिन्न भाषा मिसाएर कक्टेल बोलिरहनु हुन्छ र त्यसैमा तपाईलाई गर्व छ भने खत्तमै छ। तपाई त्यस्तो हुनु पनि त्यै अतिक्रमणको परिणाम होइन त? यसरी क्षणक्षणमा मनोभावना व्यक्त गर्न प्रयोग गर्नुपर्ने अत्यावश्यक भाषा माथि अत्याचार गर्दा पनि चुपचाप सहेर लोप हुने अवस्थामा पुर्‍याउने हामी नै हौं । हामीले तिनकै अगाडि प्रतिकार नगरे पनि अथवा गर्न नसके पनि पछाडि प्रयोग गरिरहन सक्नु पर्छ कि पर्दैन? यो कसको कमजोरी हो? हाम्रै होइन? यी यसरी मैले तपाईलाई सोध्ने। तपाईले मलाई सोध्ने। सोध्यो भन्दैमा नकरात्मक ढंगले लिने आदि इत्यादि काम राम्रो होइन। तपाईको विचारमा यस्तो काम राम्रो हो त? होइन। तर हाम्रा समाजका अग्रजहरु त्यस्ता छन्। साना, निर्बलिया र गरीबले केही भन्न नहुने, नपाइने। ठूला, धनीमानी र बलियाले जे भने पनि मान्य हुने। त्यसै त्यसै डाकोले खाने। त्यसलाई पनि मान्नै पर्ने। जसले सत्य, तथ्य र वास्तविकताहरुलाई जानी नजानी इतिहासको गर्भमा लुक्न वाध्य पारिरहेका छन्। अब हामी त्यसो नगरौं। वास्तविकतालाई आत्मसात गर्ने हिम्मत गरौं। कोट्याई कोट्याई सत्य कुरा बाहिर निकालौं। बाहिर भएकालाई व्यापक बनाऔं। त्यसको संरक्षण सम्बर्द्धन गर्न तत्पर हौं ।

यी त भए भूमिकाका कुरा। मेरो मनको गाँठो फुकाउने मौका दिनुभएकोले तपाईसँग फुकाइ दिएको मात्र हुँ। अन्यथा नलिई दिनु होला। अब तपाईको प्रश्नको उत्तरतर्फ लागौं। तपाईको जिज्ञासाहरु यस प्रकार थिए हाम्रो गुरुङ समुदायभित्र चल्दै र मान्दै आएको पच्यु क्ल्हेप्री समुदाय भित्र पर्ने तथाकथित १६ जात भन्नेलाई नौथरे भन्न खोजिएको हो कि कसो? साथै घले घोताने लामा र लामिछाने भन्नेहरुलाई चारथरे भन्न खोजिएको हो कि? र तीन थरे र चार थरे भित्र कुन कुन थरहरु पर्दछन्? र समग्रमा गुरुङ समुदायभित्र जम्मा कति थरहरु हुन्छन्?

तपाईको कुरा सुन्दा सजिलो लागे पनि बुझ्दै जाँदा ज्यादै गहिरो लाग्यो। त्यसकारण तपाईलाई यहाँ तमु (गुरुङ) जातिको संक्षिप्त इतिहास प्रस्तुत गर्न चाहन्छु। नेपालको एकीकृत शासन प्रणालीको इतिहास त्यति लामो छैन। बि.सं. १८२५ बाट गन्ने हो भने झण्डै १३७ वर्षको छ। त्यो पनि एकतन्त्रीय राणाशासनलाई समेत गनेर। नेपालको प्रामाणिक प्राचीन इतिहास विक्रमको छैठौं शताब्दीदेखि मात्र सुरु भएको देखिन्छज्ञ भने नेपालको सन्दर्भमा तमु (गुरुङ) जातिको प्रामाणिक इतिहास पनि त्यसैको हाराहारीमा देखिन आउँछ। किनभने पुरातत्वविदहरुले बताए बमोजिम क्होलाको एउटा प्राचीन भवनमा उत्खनन गर्दा त्यहाँ पाइएको कोइलाको नमूना बारसय वर्षको र सो भवनबाट उम्रेको रुख हजार वर्ष पुगेको पाइनुका साथै माटाका भाँडाहरु ६१३ AD । का फेला परेका छन्। यसरी हेर्दा हाम्रो तमु (गुरुङ) जातिको अस्तित्व क्होलासोँथरबाट मात्र गनेपनि हजार बाह्रसय वर्ष पुरानो देखिन्छ भने तमु (गुरुङ) जातिको प्ये छ्यालाई वैज्ञानिक अनुसन्धानबाट Shamanic, Shamanism भनिएको छ र यो धर्म ३० हजार वर्ष भन्दा पनि पुरानोमा गनिएको छ। मंगोलियन इतिहास र अमेरिकन नेशनल इतिहास अनुसार पनि यो कुरा पत्ता लगाई सकेको छ। त्यसैले यो अतिभन्दा अति पुरानो धर्म Ancient Religion मा गनिन्छ ।

तमुजातिको वास्तविक इतिहास सम्बन्धमा यसरी लेखिएको पाइन्छ। म्हिन कुगी तमुको थर तिब्बतबाट सर्दै आएको देखिन्छ। तिब्बतमा यिनीहरु सम्भवत तेस्रो प्रवेशी समूहको रुपमा गनिएको छ। यिनीहरुले त्यहाँ हाँनलाई बसाइ सराईको पालो दिए। तिब्बतबाट ल्होक्या हुंदै ल्होक्याँको पश्चिम यार्लुङ भ्याली (उपत्यका) जाने क्रममा त्यसको चेताङ नजीक चन्ताङ भन्ने डाँडामा यस जातिका गोठालाहरुले एउटा लामो कान भएको भयङकर डर लाग्दो बलियो मान्छे भेटेको कथा पाइन्छ । जसलाई न्हचन भनिएको छ । त्यो मान्छे एक्लो भएको र त्यसले गोठालाहरुको गाह्रो अप्ठ्यारो काममा मद्दत गर्ने गर्दै आएकाले उनीहरु त्यससँग झ्याम्मिए र संगै बस्न थाले। त्यसलाई पछि हिरमर्छे पदवी दिइयो र त्यससँग चाँफी पाँम्रीस्यो विवाह गराइयो। यो चाँफी पाँम्रीस्यो थियो । त्यो न्हचन पछि हिरमर्छे नाम भएको र चाँफी पाँम्रीस्योबाट सन्तान भएपछि तिनको सन्तानलाई कोन्म थर दिइयो । यही कोन्मका सन्तानले बोन्पोलमसँग पुरोहित्याई सिक्न सिक्लेस गए। सिप पूरा सिकेर आएकालाई लम र अधुरो सिकेकालाई लेम भनियो। तिनीहरु मध्ये पनि केही सिक्दै नसिकेकालाई चाहिं कोन नामको थर दिए। यहाँ यति सजिलै भट्टाभट जात थर दिएको उल्लेख गरिएको छ। किनभने त्यतिबेला जात दिने राजा भात दिने भाइ प्रचलनमा थियो । त्यो बेलामा बसाई सर्दै जाने क्रममा कुनै ठाउँको बसाइमा त्यहाँ रहेका पुराना बासिन्दालाई नयाँ बासिन्दाले क्ल्हे (अधिपति) मान्ने गर्दथे। पछि आउने माझमा सुत्ने गर्न पाइने थिएन। यो त्यो बेलाको प्राकृतिक नियम थियो। त्यसै क्रममा क्ले (घले) पनि तमु जातिमा सम्मिलित हुन पुग्यो। यसरी पहिले तमुजाति कुगी थिए। कुगी भनेको नौथर भयो। त्यसमा कोन्म थपियो र त्यसमा पनि पछि क्ले (घले) थपियो र ११ (एघार) थर भयो, होइन? यो सोँगी भनेको कोन्म नै हो जुन कोन, लम र लेममा विभाजित भयो।

हिन्दू अतिक्रमणवादीहरुले हाम्रो तमुजातिको बारेमा बनाई दिएको रोचक कथा यस्तो छ हेर्नुस् है। क्षेत्री राजकुमारका छोराहरु ३ जना रहेछन्। क्ले (घले), कोन (घोताने), लम (लामा)। ब्राह्मण पुजारीको छोरो एउटै रहेछ। लेम (लामिछाने)। यिनीहरुको संख्या जोड्दा ४ पुग्यो। यिनलाई ४ जाते भनियो। नोकरका छोराहरु १६ जना रहेछन्। यिनको नाम थाहा हुन सकेन। माथि खुल्न आएको ४ जात चाहिं ४ जाते नै भैगयो भने बाँकी नाम खुल्न नसकेको जति सबै १६ जातेमा परे। यसलाई निम्नलिखित तरिकाले प्रष्ट पारेको पाइन्छ ।

१) क्षेत्री राजकुमार लोचन (भाराज गोत्र) का छोराहरुः ३ (तीन) जनाः क्ले (घले), कोन (घोताने गोतामे गौतम) र लम (लामा) ।
२) ब्राह्मण पुरोहित (पुजारी) बली (गर्ग गोत्र)) का छोरा १ लेम (लामिछाने लामछाने) ।
३) दास (नोकर) करसिंह थापा खवासका छोराहरु १६ जना ।

यसरी हुंदै नभएको कुरो लादेर सानो र ठूलो भनी छुच्चो व्यवहार गर्न थालेपछि त्यसैत्यसै मनमुटाव हुने नै भयो र भयो पनि त्यस्तै, होइन? आफू आफूमा लडाई झगडा र मारामारको स्थिति खडा भयो। त्यसलाई साम्य पार्न मुद्दा पनि लडे । मुद्दामा जहिले पनि जीत भएको पाइन्छ। तमु समुदायमा उँचनींच र छुवाछुतको भावना छैन भन्ने नजीर बस्छ। तर समाजभित्र मान्छेको मन त्यस्तै छ। ठसाक र ठुसुक। तँछाड र मछाड, कोही होइन मैं, आफैं मपाईं। उही सत्ता, शक्ति र धनको आड लिएर त्यही दुर्भावना लादिरहेका छन्। गुरुङ जातमा चार र सोह्र जातको बारेमा कहीं पनि उल्लेख गरेको पाईदैन तर शिषरनाथले छपाएको थर गोत्र प्रवरवली भन्ने किताबमा घले, घोताने, लामा र लामिछाने चार जात गुरुङ राजपुत्र थापा भन्ने सोह्र जात गुरुङहरु दासी पुत्र हुन् भनेर गुरुङ समुदायमा विभाजन गरी छापेको विरोधमा मुद्दा पर्दा निजले लेखेको कुरा झुट्टा सावित भै निजलाई रु. २०। जरीवाना गरेको र निजले छापेको किताबहरु सबै जफत गरेको पाइन्छ।

हाम्रो इतिहासलाई प्रष्ट्याउन धेरै वर्ष लाग्छ। अनि मैले उक्त लेखमा तमु कि गुरुङ भन्ने शीर्षक राख्नुको तात्पर्य पनि छ । जुन खुल्न नसके जस्तो लाग्यो। तमु प्ये ल्हु संघका संस्थापक सदस्य, भू.पू. अध्यक्ष, वर्तमान निर्देशक परिषद सदस्य क्या. भुवनसिं च्हाक्ली तमुका अनुसार नेपाली भाषामा गुरुङ नभन्ने गुरुङ भाषामा तमु पनि नभन्ने अन्य जातिकाले पनि आफूलाई गुरुङ भनेर चिनाउन चाहिरहेको पाइन्छ। जुन वास्तवमा गुरुङ होइन तर गुरुङ हुन चाहन्छ र हाम्रो जातिको नाम बेचेर आफ्नो स्वार्थ पूरा गरिरहेको छ। यसले गर्दा हाम्रो जातिमा बिक्रृति भित्रिएको देखिन्छ। किनभने सक्कली पो सक्कली हो उसलाई केही गर्नु पर्दैन। अकबरी सुनलाई कसी लाउनु पर्छ र? पर्दैन नि। तर नक्कलीलाई सक्कली हुन अनेक गर्नुपर्छ। उसको छाँटै बेग्लै हुन्छ, उसले चांहि थाहै नपाई सद्देलाई पनि बिगार पारी छाड्छ। जुन हाम्रो जातिमा प्रष्टै देखिएको छ। अझै पनि हामी तपाई के हो? भन्ने प्रश्नको उत्तरमा गुरुङ हो भन्ने गर्छौ। अनि तपाई के गुरुङ हो भनेर सोध्यौं भने त्यसलाई अनर्थमा लिन्छौं । हाम्रो हृदय विशाल छ भने त्यसो गर्नु हुंदैन । आफ्नो जात थर भन्न हिचकिचाउनु राम्रो होइन। जात थर त उपाधि हो। यसलाई उचारण गर्न पाउँदा गर्व मान्नु पर्छ । किन कञ्जुस्याई गर्ने आफ्नो थर भन्न? अझै पनि अन्तरआत्ममा हिनताबोध छ कि विभेद गर्ने उँचनिचको भावना जीवित छ? आफूलाई आफ्नो जात थरको गर्वपन छ भने आफ्नो नाम थर भन्न सक्नुपर्छ ।

माथिका कुराहरुले कुगी, र प्लिगीको कुरो स्पष्ट भयो होला। होइन त मित्र? त्यसमा सोँगी पनि छ । कसरी भने कोन्मे भित्र सोँगीको वर्णन गरेको छु। होइन र? लम, लेम र कोन। होइन भने यसरी बुझे पनि भयो । तमुजातिमा म्हिन कुगी थियो। कुगी कुगी नै भयो त्यसमा क्ले (घले) थपियो। कोन्मलाई ३ भागमा बाँडियो। लम, लेम र कोन। यो आफैं सोँगी भै गयो। त्यसमा पछि क्ले (घले) थपिंदा प्लिगी भयो। यो गी गी भनिराखेको छु नि । यो गी भनेको गुरुङ भाषामा थरलाई जनाउने शब्द हो। गुरुङका थरहरु थुप्रै छन्। जसरी एउटै जात (थर) पनि भौगोलिक भिन्नताका कारण फरक फरक नामले चिनिन्छन् भनेर तपाईले भन्नु भएको छ नि। त्यो कुरो सत्य हो। त्यसरी नै यो जातिभित्र थरहरु पनि थुप्रै छन्। जुन अध्ययन अनुसन्धानको विषय हो। अहिले सम्म सु. चन्द्रमणि तमुले १७२ थरहरु प्रकाशनमा ल्याउनु भएको छ। त्यो यस पत्रसंग संलग्न गरी पठाएको छु। त्यसमा तपाईजस्तै जिज्ञासुले आ आफ्नो गाउँबाट बटुलेर प्रकाशमा ल्याउने हो। जानेको कुरा भन्ने हो । भनेको कुरा सत्य हो कि होइन । त्यसको अध्ययन अनुसन्धान गरेर तुलना गर्ने। तथ्यपरक छ र त्यो सत्य सावित हुन्छ भने सत्य तथ्यले पुष्टि भएको कुरा विश्वास गर्ने हो। त्यसरी पुष्टि भएका सबै कुराहरु संकलन गरेर आफ्नो पुस्तालाई हस्तान्तरण गर्ने हो । शिक्षा दिने हो। अनि बल्ल हाम्रो स्पष्ट पहिचान देखापर्छ। त्यो नै हाम्रो पहिचान हो, अस्तित्व हो।

मैले यतिका कुरा उल्लेख गरी सकेपछि तपाई जस्तो ज्ञानी पुरुषले बुझ्नु भएको छ भन्ने मलाई लागेको छ। मैले कसैलाई ईंगित गरेर भन्न खोजेको होइन । इतिहासको पाना पल्टाएर देखाएको मात्र हुँ । हाम्रो इतिहास हेर्दा त्यस्तो देखिन्छ भने त्यसैको कारण वर्तमान स्थिति पनि नाजुकै छ । यसकारण अब पनि हाम्रो धारणा परिवर्तन गर्न सकिएन भने भविष्यले हामीलाई धिक्कार्ने छ। जसरी हामीले विगतलाई धिक्कारेका छौं। त्यसरी नै आगतले पनि हामीलाई धिक्कार्नेछ । मान्छे जन्मजात या जातैले मात्र कोही पनि ठूलो सानो हुंदैन । कसैलाई भनेर होइन आफैले गरेर देखाउन सक्नुपर्छ, दोष दिएर होइन गुण लगाएर अघि बढ्न सक्नुपर्छ । मान्छेलाई गुण दोषको आधारमा बाहेक अन्य कुनै कुरामा सानो ठूलो भनिन्छ र त्यस्तो व्यवहार गरिन्छ भने त्यो पशु ठहरिन्छ । यी इत्यादि कुराहरुलाई मनन गरेर हामीले गुरुङ भेट्घाट संरक्षण समिति स्थापना लागेको छौ।

 

नमस्ते ।

एस् राज घले
गोर्खा नेपाल