गुरुङहरूको समाजमा पसेका गैरगुरुङहरू

 

 

समय-परिस्थिति, सामाजिक परिवेश र निजी स्वार्थ अथवा ईच्छावमोजिम आफ्नो जात फेर्ने मानिसले कुनै ठाउँ विशेषको सामाजिक संरचनामाथि त अवश्यै प्रतिकूल असर पार्छ साथै सम्बन्धित समुदायको मौलिकतामाथि पनि केही न केही फेरबदल त ल्याउँछ नै । हाम्रो देशको परिप्रेक्ष्यमा यस्ता थुप्रै जातीय समुदायहरु छन् जसले आफ्नो जातीय पहिचानलाई बाध्यतावश भनौं यार् इच्छावश फेरे र अर्कै जातीय आवरणले आफ्नो विगतलाई ढाकेर नयाँ पहिचान ओढे । जातपातको चलन, वर्गीय विभाजन र सामाजिक  रीतिरिवाजले राणा र शाहकालीन नेपालमा यस्तो परिस्थितिको जन्म भयो कि थुप्रै मानिसलाई आफ्नै जातसित पनि लाज लाग्थ्यो । थुप्रै जातजातिलाई आफ्नो पहिचान, मौलिक भाषा, रितीरिवाज र परम्परासित हिनताबोध गर्नुपर्ने अवस्था थियो । परिणामस्वरुप थुप्रै मानिसहरुले आफ्नो जात फेरेर अर्को जात अंगाले ।  हाम्रो नेपाली समाजमा जात फेर्ने चलनको बीजारोपण लिच्छवी शासनकाल नै भइसकेको थियो ।

जब हरिसिंह देवले नेपाल खाल्डोमाथि विजय गरेर ब्राहृमण धर्मलाई जोगाउन तथा पूजाआजा र धार्मिक स्थितिलाई स्थायित्व दिन नियम कानून बनाए । विस्तारै समाजमा वर्ग विभाजनको काम शुरु हुन थाल्यो र मानिसहरु चार (ब्राहृमण, क्षेत्रीय, वैश्य र शू्द्र) वर्गमा विभाजित हुन पुगे । वर्ग विभाजनको प्रारम्भिक चरणमा वैश्य र शूद्रहरु ब्राहृमण र क्षत्रीयहरुभन्दा अलि तल्लो जातका भए ता पनि सामाजिक पद्धतिमा उनीहरुको स्पष्ट स्थान र इज्जत थियो । तर समय बित्दै जाँदा र नयाँ परिस्थितिमा तल्लो स्तरका वैश्य र शूद्रहरुलाई बेग्लै दृष्टिकोणले हेर्न थालियो । जब वैश्य र शूद्रहरुलाई तल्लो जातको रुपमा हेर्न थालियो तब शुरु भयो तल्लो जातले आफ्नो जातीय पहिचान लुकाउँदै उपल्लो जातमा उक्सिने चलन । भन्नु पर्दा मानिसहरुले आफ्नो जात फेर्ने चलन ल्याउन थाले । हुन त जात फेर्ने भन्नाले तल्लो जातले सामाजिक प्रतिष्ठाको लागि माथिल्लो जातमा हामफाल्ने एकल कारण मात्र थिएन । त्यसताका यस्ता थुप्रै कारणहरु सिर्जना भए, जसले थुप्रैलाई आफ्नो जातीय पहिचान फेर्न र ढाँट्न बाध्य पारे । हाम्रो देश नेपालमा राणा शासनकालमा यस चलनले तीव्रता पाएको पाइन्छ । परिणामस्वरुप थुप्रै जनजातिहरु आफ्नो मौलिक भाषालाई छाड्दै गए, धर्म पनि परिवर्तन गर्न थाले र जात पनि फेर्न हिच्किचाएनन् । यस प्रकार शुरु भयो जात बदल्ने खेल । यसै क्रममा थुप्रै मगरहरु, थापा-क्षेत्रीको समूहमा सामेल हुन पुगे । थुप्रै तामाङहरु गुरुङ बनेर भारतीय र ब्रिटिस सेनामा भर्ती हुन बाध्य भए । दमाई, च्यामे, पोडेहरुको असली जात लुकाएर ‘नेपाली’ लेख्ने चलन पनि यसैको परिणाम हो भन्न सकिन्छ । धेरैलाई सामाजिक प्रतिष्ठा हासिल गर्न तथा शासक वर्गको नजिक हुन आफ्नो वास्तविक जात र थर लुकाउँदै माथिल्लो जातको बन्न केही गाह्रो अनुभव भएन । विशेषतया शासक वर्गले शुरु गरेको एक देश, एक भाषा तथा एक धर्मको नीतिले जनजातिलाई हिन्दू बन्न प्रेरित गर्‍यो । यो काममा शासक वर्गले विभिन्न प्रभोलन दिएर फकाउनेदेखि लिएर बल प्रयोगसम्म गरे ।

राजा जयस्थिति मल्लले शुरु गरेको वर्ग व्यवस्था पछि आएर राजा सुरेन्द्र विक्रमको पालामा अझ व्यवस्थित हुन पुगेको थियो । विसं १९१० मा राजा सुरेन्द्रविक्रमको पालामा श्री ३ जंगबहादुरको निर्देशनमा निर्माण गरी जारी गरिएको मुलुकी ऐनमा “पानी नचल्ने जाति” भनेर एउटा सूचि नै तयार पारे । यसप्रकार घोषित “पानी नचल्ने जाति” हरुसित बसोबासको ठाउँ फेर्दै आफ्नो जात पनि फेर्ने चलनले तीव्रता पायो । जसको परिणाम भयो -थुप्रै मानिसहरु आफ्नो जात फेर्दै अन्य जातमा पस्न थाले । यस्तै जातीय घुसपैठहरुले गुरुङ समाजमा पनि गड्बडी उत्पन्न गरेको छ । गुरुङ बन्नेमा थुप्रै जातहरु छन् । यस तथ्यलाई प्रदीप थापामगरले आफ्नो किताब “को हुन जात फेर्नेहरु” मा यस प्रकार प्रष्ट पारेका छन् -”त्यसैगरी थुप्रै नेवार, तामाङ, दुरा, थकाली, कामी, दमाई र सार्कीहरु ब्रिटिस गोर्खा र भारतीय फौजमा थापा र गुरुङ लेखाएर भर्ती हुन पुगेको छ । ” यस प्रकार गुरुङ लेखाएर भर्ती हुनेहरुमा थुप्रै गैरगुरुङहरु छन् । सोही किताबमा उल्लेख भएअनुसार नुवाकोट जिल्लाको बोमताङ गाविस सँगैको किमताङ गाविसका ५०० धुरीका तामाङहरुले भारतीय गोर्खा सैनिकमा भर्ती हुँदा गुरुङ नै लेखाउँदै आएका छन् । भन्छन् कि धादिङ जिल्लामा पनि गुरुङ लेखाउने तामाङहरु हजारौंको संख्यामा छन् । यस्तै वि.सं २०१२ सालतिर गोर्खाको उत्तरी भेकका मनग्गे तामाङहरु भकाभक् गुरुङ बनेका थिए । यी गुरुङहरु बाह्र साले गुरुङ भनेर चिनिन्छन् ।

विचारणीय के छ भने-किन यत्तिका तामाङहरु गुरुङ बन्न बाध्य भए ? रणबहादुर र गिर्वाण शाहका पालामा दुई पटक सैनिक विद्रोह गरेकाले तामाङहरुलाई सेनामा पीपा पदमा मात्र भर्ना गर्न थालियो । साथै अधिकतर तामाङहरु काठमाण्डौं खाल्डोको वरिपरिका जिल्लाहरुमा (नुवाकोट, धादिङ, काभ्रे, सिन्धुपालचोक, मकवानपुर आदि) बसोबास गर्ने भएकाले शासकवर्गले उनलाई सधैं शंकाको दृष्टिले हेर्ने गर्थे । यिनलाई सेनामा सामेल गरेर हात हतियार दियो भने मौका पारेर राजधानीमाथि आक्रमण गरेर राज्यसत्ता आफ्नो हातमा पार्न सक्छन् भन्ने शंकाले तामाङहरुलाई सैनिक सेवादेखि टाढा राख्ने नीति अवलम्बन गरियो । राणा शासनकालको अन्त्यसम्म तामाङ जनजातिलाई सरकारी जंगी र निजामती सेवाहरुमा प्रवेश दिंदैन थिए । साथै अन्य समुदायलाई जस्तो स्वदेशी सेनामा भर्ती जाने छुट पनि थिएन । हिन्दू शासक वर्गले तामाङहरुलाई अलिक टाढा राख्ने अर्को एउटा कारण पनि थियो । गुरुङ र मगरहरुले परापूर्वकालदेखि चल्दै आएको गाई गोरु खाने चलन हिन्दू शासकहरुको संगतमा कटौती गर्दै लगे र उनको नजिक हुन पुगे । तर तामाङहरुले यो चलनमा त्यत्ति बन्देज गरेका थिएनन् । परिणाम यो भयो कि उनीहरु शासकवर्गको मायाको पात्र बन्नबाट चुके । मात्र उनको शारीरिक क्षमतालाई शासक वर्गले (पीपा) भारी बोक्ने दलको रुपमा प्रयोग गरे । हुँदा हुँदै पहाडी भेकका थुप्रै तामाङहरुमा आफूसित भाषा र चालचलन मिल्ने गुरुङको थर लेखाएर भर्ती हुनेबाहेक अरु कुनै उपाय रहेन । जसकारण थुप्रै तामाङहरु आफ्नो नामको पछाडि गुरुङ झुण्ड्याएर भर्ती हुन थाले । इतिहास खोताल्दै लाँदा हामी थाहा पाउँछौं कि गुरुङहरु पृथ्वीनारायण शाहको सेना हुँदै भारतीय र ब्रिटिस सेनामा भर्ती हुन पुगे । पहिलो र दोस्रो विश्व युद्धका दौरान थुप्रै गुरुङ योद्धाहरुले भिक्टोरिया क्रसजस्ता पदकहरु जितेर वीरताको उच्चतम सम्मान हासिल गरे । राई, लिम्बू र मगरहरुझैं नै गुरुङहरुले पनि आफ्नो वीरताको इतिहास रचे । फलस्वरुप भारतीय र ब्रिटिस सेनामा गुरुङ जातको विशेष महत्व र स्थान रहन गयो । हुन त तामाङ र गुरुङहरुको भाषा तथा अन्य रीतिरिवाजमा धेरै समानता छ । इतिहासकारहरु भन्छन् कि यी दुई जातहरु केही शताब्दी अघि मात्र छुटेका हुन् ।

१८ औं र १९ औं शताब्दीतिर आफ्नो जात लुकाएर हुन्छ कि ढाँटेर हुन्छ उपल्लो जातमा उक्सिने चलनमा तीब्रता आयो । थुप्रै मतवाली तथा गैरआर्यहरु पनि जनै लगाएर क्षेत्री बन्ने होडमा सामेल भए । थुप्रै त पैसा तिरेर पनि कुलीन वंशजमा उकासिए । तर तामाङहरु गुरुङ बन्नेमा यस्ता कुनै कारण थिएनन् । गुरुङ बनेर उनीहरु न कुलीन बन्न चाहन्थे न त उपल्लो जातमै उक्सिन चाहन्थे । शासकको विभेदकारी नीतिले पीडित तामाङहरुको एकमात्र लक्ष्य गुरुङ बनेर भर्ती भई आफ्नो पेट पाल्नु थियो । अचेल तामाङहरुमा सांस्कृतिक जागरण आएको छ र आफ्नो पुरानो पहिचान लिएरै बाँच्न चाहन्छन् । गोर्खा, लमजुङ, कास्की, तनहूँतिरका करीब दुई हजारभन्दा बेसी गुरुङहरुले तामाङ बन्न पाउँ भनी नेपाल तामाङ घेदुङ केन्द्रीय समितिमा पत्र लेखेका छन् - को हुन जात फेर्नेहरु ? (पृष्ठ ४२) । यस विषयमा नेपाल तामाङ घेदुङले २०५४-१-२२ मा तत्कालीन प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दलाई तामाङहरुले जाति र थरको प्रचलन गर्न गराउन सम्बन्धमा एउटा ज्ञापनपत्रसमेत बुझाइएको थियो । यहाँ सम्म कि तामाङ घेदुङ केन्द्रीय सचिवालयको तर्फबाट पनि विगतमा आफ्ना जात फेरेका तामाङहरुले आफ्नो जातिमा फर्कीँदा बिना कुनै कानुनी अड्चन आफ्नु जात सच्याउन पाउने आदेश र प्रचलन गराई दिनहुन प्रधानमन्त्रीसित अनुरोध गरेका छन् ।

यसरी गुरुङ बन्नेमा तामाङहरु मात्र होइनन अन्य थुप्रै दुरा, नेवार, कामी र सार्कीहरु पनि छन् । लेखक प्रदीप थापामगरले आफ्नो सोही किताबको पृष्ठ ४४ मा लेखेका छन् -गोर्खा स्मारक संग्रहालयका अध्यक्ष क्या. एकनारायण गुरुङका अनुसार हाल पोखराको रामघाट निवासी ब्रिटिस गोर्खाका पूर्व गोर्खा मेजर बिर्खराज गुरुङ वास्तवमा लमजुङ दुरा डाँडाका दुरा जातिका हुन् । बिर्खराज गुरुङ बनेकोमा दुरा सेवा समाजले दुरा नै बन्न गरेको आग्रहलाई हाल तमुधीं कास्कीको सल्लाहकार रहेका बिर्खराजले ” म गुरुङ भैहालें तर मेरो जाति(दुरा)लाई पनि भुल्ने छैन” भनेर उत्तर दिएका थिए । काठमाडौं र पोखरामा प्रशस्त दुराहरु मगर र गुरुङ भएर बसेका छन् । यस्तै खालके अर्को उदाहरणमा ब्रिटिस गोर्खाका पूर्व मेजर मनबहादुर गुरुङ धनबहादुर श्रेष्ठका सुपुत्र हुन् । दोस्रो विश्व युद्धमा १/५जीआरमा गुरुङ भएर भर्ती भएका धनबहादुरका चारैभाई छोराहरु अहिले गुरुङ भएर बसेका छन् । मेजर मनबहादुर गुरुङका जेठो दाजु वीरबहादुर गुरुङका छोरा बिक्रम गुरुङ नेवार भइकन पनि त्यसैकारण गुरुङ बनेर नेपाल प्रहरीमार् इन्स्पेक्टर छन् । यस्ताखाले थुप्रै रोचक र घोचक तथ्यहरु प्रदीप थापा मगरको सोही किताबमा पढ्न पाईन्छ ।

यीबाहेक, तिब्बतमा चीनको हस्तक्षेप हुन थाले पछि पश्चिम नेपालको उत्तरी भेकबाट थुप्रै तिब्बतीहरु नेपाल पसेर गुरुङ बनेका छन् । मनाङतिरका गुरुङहरुसित यी तिब्बतीहरुको भाषिक समानता र साथै कमजोर नेपाली प्रशासकीय व्यवस्थाले उनलाई गुरुङ बन्न तेत्ति गाह्रो परेन । सजिलै नेपाली नागरिकता उपलब्ध हुने भएकोले पनि उनलाई गुरुङ बन्न सजिलो भयो । साथै पहाडी भेकका थुप्रै अल्पसंख्यक मतवाली भोटे जातिहरु पनि जातीय र सांस्कृतिक सुरक्षाको दृष्टिले गुरुङ बन्न प्रेरित भए । तिब्बततिरबाट आएका अल्पसंख्यक खंपा र ढोक्पाहरुले पनि सामाजिक स्थिरताका निम्ति गुरुङ लेखाउन रुचाए । त्यस्तै नारायण प्रसाद क्षेत्री आफ्नो किताब “मुस्ताङ दिग्दर्शन” को पृष्ठ ३२० मा लेख्छन्- “केही वर्षअघिदेखि यस भेकको जोमसोम भन्दा माथिल्लो क्षेत्रका निवासीले विष्ट, विष्ठ ठकुरी, गुरुङ आदि थर राख्ने अभियान चलाएका छन् ।

 

आज भोलि सबै “गुरुङ” जाति नै भनी भन्दछन् । ” मुस्ताङको ताङवे गाउँका ताङवेहरुमा गुरुङ थर पाईन्छ । डा. हर्क गुरुङले आफ्नो किताब “मैले देखेको नेपाल”मा ताङ्वे गाउँबारे यसप्रकार लेखेका छन् -”गाउँमा करिब ३० ओटा घरहरु थिए । गाउँलेहरु आफूलाई मनाङबाट आएका घले र गुरुङ भनी चिनाउँथे ।” यस्तै, मुस्ताङ जिल्लाकै ल्होमान्थाङ अर्थात् सुदूर उत्तरभन्दा तल, पाँचगाउँ भन्ने बीचको भाग भन्दामाथि बाह्रगाउँलेहरुमा पनि गुरुङ थर पाईन्छ । साथै, नेपालको भित्री मधेस र पहाडको कछाड इलाकामा बसोबास गर्ने कुमालहरुमा पनि “गौरुङ” थर भेटिन्छ । यस प्रकार कुमाल, ताङवे र बाह्रगाउँलेबाट कसैले गुरुङ थर राख्ने गरेका छन् भने अचम्भ नमाने पनि हुन्छ ।

यस्तै, रुपाकोट-सुल्लीकोट तथा लिगलिगकोट वरिपरिका खुलाल गुरुङहरु वास्तवमा गुरुङ नभएर खुलाल मगर भएका रहस्य लेखक डिल्लीजंङ तमुले आफ्नो किताब “तमु जातिको लुकेको इतिहास” मा प्रकट गरेका छन् । लेखकको अनुसार यी मगरहरु शाहवंशीय राजाहरुले लिगलिगकोटमाथि कब्जा गर्ने योजना अर्न्तर्गत रोल्पा तथा डोल्पातिरबाट ल्याइएका मगरहरु थिए । मगर तथा गुरुङहरुको अनुहार तथा शारीरिक बनौटमा समानता हुनले शाहवंशीय शासकहरुले गुरुङ कबिलाहरुमाथि कब्जा गर्न यिनलाई प्रयोग गरेका थिए । पछि स्थानीय गुरुङहरुले रहस्य थाहा पाउलन भनेर यिनलाई आफूहरु खुलाल गुरुङ भन्न लगाइएको थियो । रुपाकोटका यी खुलाल गुरुङहरुले वरिपरि स्थित गाउँका गुरुङहरुले झैं गुरुङ भाषा बोल्न जाँदैनन् । तरपनि यो जात परिवर्तनको कार्य सजिलै सम्पन्न भयो । किन भने पश्चिम नेपालतिर थुप्रै ठाउँहरुमा गुरुङ र मगरहरु एकआपसमा छ्यासमिस भएर उहिल्यैदेखि बसिरहेका छन् । यी दुई जातिबीच शारीरिक बनौटको साथै सामाजिक र साँस्कृतिक समानता पनि पाईन्छ । यस्तै गोरखा जिल्लाको उत्तरी भेकमा पर्ने सियार खोला किनारमा बस्ने सियारहरुको चालचलन उत्तरीक्षेत्रका तिब्बतीहरुसँग धेरै मिल्दछ तर केही चालचलन गुरुङसित पनि मिल्छ । अचेल धेरै सियारहरुले आफूलाई गुरुङ लेख्न थालिसकेका छन् । अर्को उदाहरणमा गोरखा जिल्लाकै लार्के भोटतिरका निवासी लार्केहरु आफूलाई गुरुङ नै भनेर चिनाउँछन् । यी त भए ज्ञात उदाहरणहरु जसमा गैर-गुरुङहरु गुरुङ बनेका छन् । तर पक्कै पनि अझै थुप्रै यस्ता घटनाहरु होलन् जो प्रकाशमा आएका छैनन् ।

विगतमा थुप्रै गुरुङहरुले भारतीय र ब्रिटिस सेनामा कमाएको ख्यातिले गर्दा अन्य जातिका मानिसहरु पनि आफ्नो नामको पछाडि “गुरुङ” झुण्ड्याएर भर्ती हुने चलनले त्रि्रता पायो । अर्कोतिर तिब्बतको आन्तरिक समस्याहरुले गर्दा तलतिर झरेका तिब्बती तथा अन्य अल्पसंख्यक भोटे समुदायले पनि नेपालभित्र आफ्नो सामाजिक सुरक्षाको निम्ति गुरुङ बन्ने सजिलो बाटो नै रोजे । त्यसमाथि हाम्रो सरकारको नालायकीपनले यी समुदायका मानिसहरुलाई गुरुङ बनेर नेपाली नागरिकता प्राप्त गर्न कुनै गाह्रो भएन । साथै गुरुङहरुको सोझोपन, सामाजिक चेतको अभाव तथा विरोध नगर्ने व्यवहारले थुप्रै गैरगुरुङहरु गुरुङ समाजमा सजिलै प्रवेश गरी रहे । वास्तवमा, सबैलाई आफ्नो पहिचानसित गहिरो लगाव हुन्छ । कोही पनि आफ्नो जातीय पहिचान र अस्तित्व लुकाएर बाँच्न चाहँदैनन् । तर विगतमा हाम्रो देशमा शासकवर्गको स्वार्थले यस्तो सामाजिक व्यवस्था बसालिदियो कि धेरैले आफ्नो पहिचानलाई लुकाएर हिँड्न पर्‍यो । फलस्वरुप आज थुप्रै जातजातिहरुको आफ्नो मौलिक पहिचान भएतापनि पहिचानविहीन बनेका छन् । उनको ऐतिहासिक विगत अदृश्य र सांस्कृतिक वर्तमान अन्यौल बनेको छ ।

अब देश संघीय लोकतन्त्र गणराज्य बनेको छ र राज्यले सम्पूर्ण जातजातिको अस्तित्वलाई संरक्षण प्रदान गर्ने जिम्मा लिनु पर्छ । सरकारले कुनै जातजाति विशेषलाई काखा र अरुलाई चाहिँ पाखा गर्ने नीति अवलम्बन गर्नु हुँदैन । कुनै पनि जातजातिले आफ्नो पहिचान र अस्तित्व लुकाएर बाँच्नु पर्ने अवस्थाको सिर्जना नहोस् । सबैले आफ्नो पहिचान र संस्कृतिमाथि गर्व गर्न सकियोस् । अब यस्तो वातावरण देशमा बनोस् । सबैलाई चेतना भया

 

update by:

एस् राज घले
गोर्खा नेपाल