कुवेतमा १० वर्षदेखि श्रीमान् खोज्दै नेपाली महिला
20th December 2009, Sunday Font:    A+    A-
जवर्जस्ती जन्मेको बच्चालाई बाबुको पहिचान दिलाउन एक नेपाली महिला दस वर्षदेखि कुवेतमा मुद्दा लड्दै आएकी छन्। घरेलु कामदारका रूपमा कुवेत पुगेकी चितवनकी सीता सापकोटाले कुवेती पुरुषको जबर्जस्तीबाट गर्भधारण भएकी थिइन्। 'अहिले उनलाई सबै नेपालीले पनि साथ दिएका छन्,' कुवेतमा काम गर्दै आएका राजन रिमालले 'दूतावासको स्थापनाले उनलाई न्याय दिलाउने थप आशा जागेको बताए। उनीहरू आमाछोरी नै कुवेतमा बसिरहेका छन्। बच्चा जन्मिएलगत्तै सीताले ती कुवेती नागरिकलाई पक्राउ गरी थुनाएकी थिइन्। तर प्रहरीसँगको मिलोमतोमा ती पुरुषलाई भगाइएको थियो। छोटो समयका लागि नेपाल आएर पुन मुद्दा लड्न केही महिनाअघि उनी कुवेत पुगेकी हुन्। छोरीलाई पनि नेपाल लैजाने चाहना थियो तर कानुनी रुपमा नमिलेपछि एक्लै गएर पुनः आएको रिमालले बताइन्। उनले केही दिनअघि नेपाली साथीभाइको सहभागितामा दस वर्षीया अर्पिताको जन्मोत्सव पनि मनाएकी थिइन्। घरेलु महिला कामदारका रुपमा कुवेत, लेवनानलगायतका देशमा पुगेका कतिपय नेपाली महिला उनी जस्तै जबर्ज्ती यौनशोषणमा परी गर्भवती हुने गरेका छन्। यो समस्याले विकराल रुप लिन थालेको छ, कुवेतस्थित गैरआवासीय नेपाली संघ समन्वय समितिका अध्यक्ष राजेन्द्र तामाङले भने, गर्भवती हुनेमा बढीजसो गैरकानुनी रुपमा बस्दै आएका महिला छन्। तामाङका अनुसार बच्चा जन्माएर स्वदेश फर्केका महिलाको संख्या अहिलेसम्म २ सय २३ पुगेको छ। उनीहरू धेरैजसो बच्चासहित कुवेती जेलमा छन्। दुइ दिनअघि मात्रै आठ महिना र पाँच महिनाको गर्भ बोकेका सन्तकुमारी र काली तामाङ सम्पर्कमा आएका छन्। घरेलु काममा आएका महिलाहरू मालिकको यातना सहन नसक्दा भाग्ने, आत्महत्या गर्ने समेत गरेका छन्। उनीहरू नेपाली, पाकिस्तानी, बंगालीको शरण पुग्छन्, सँगै बस्ने क्रममा बच्चा जन्मिन थालेका हुन्। यो दूतावास र सुरक्षित हाउस नहुनुको परिणाम हो। गैरकानुनी भएकाले ती महिलाले लुकीछिपी कोठामै बच्चा जन्माउने गर्दा बच्चाहरू अधिकार पाउनबाट वञ्चित छन्। कुवेती सरकारले अस्पतालमा जन्माएको बच्चालाई मात्रै मान्यता दिने गरेको छ। त्यस्तै वैदेशिक रोजगारमा गएका महिला कामदारको अधिकारका लागि काम गर्दै आएको पौरखी नेपालका अनुसार याङजी शेर्पा, कृर्णामाया तामाङ, ल73मी तामाङ, प्रेमकला घिमिरे, सम्झना धामी, चन्द्रकुमारी राई, रेखामाया गुरुङ, कोपिला दाहाल र तारादेवी भट्टराई बेपत्ता भएका छन्। कुवेतमा ४० हजार नेपाली कामदार रहेकामा ८० प्रतिशत महिला घरेलु कामदार छन्। शारीरिक यातना सहन नसकेर घर छाडेर भाग्दा धेरै महिला गैरकानुनी रुपमा बसिरहेका छन्। कुवेत सरकारले हालै एमनेस्टी (गैरकानुनी कामदारलाई स्वदेश फिराउने अभियान) को मौका दिएको छ। तर यो अभियानले घरेलु कामदारलाई समेटेको छैन। त्यसैले गर्दा गैरकानुनी रुपमा बसेका घरेलु कामदार स्वदेश फिर्ने मौकाबाट वञ्चित भएका छन्। अहिले कम्पनीबाट भागेर गएकाको हकमा मात्रै यो लागू भएको छ।